लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अंग्रेजले ढाल्न नसकेको उजिरसिंहको सालिक फोरेर टाउको गायब

IMG

चैत्र १७ गते २०७८,तिलोत्तमा सिटी। नेपाल अंग्रेज युद्धमा उजिरसिंहले देखाएको बीरता बुटवलमा मात्र हैन विश्वभर आलेख छ। अंग्रेजहरु भगाएको बीर ईतिहासलाई बचाउने उदेश्यले निर्माण गरिएका बुटवल उपमहानगर पालिकाले नगरभित्रको मुख्य सडकको मेडियनमा राखिएका उजिरसिंहका सालिक तोडफोड गरिएका छन्। अस्पताललाईन देखि तिनाउ पुल सम्मको मुख्य सडकको मेडियनमा सौन्दर्यकरणका लागि भन्दै उपमहानगरपालिकाले उजिरसिंहका सालिक निर्माण गरेको थियो।


पुर्वपश्चिम महेन्द्र राजमार्गको उक्त सडकखण्डमा निर्माण गरिएका १० वटा उजिरसिंहका सालिकमध्ये २ वटा सालिकको टाउको छुट्याएर गायब पारिएको स्थानीयले बताएका छन्।अंग्रेज फौजलाई परास्त गर्ने नेपाली सेनाको नेतृत्व गरेका कर्णेल उजिरसिंहको सम्मानका लागि उपमहानगरपालिकाले निर्माण गरेका सालिकको टाउको नै गायब पारिएको भन्दै उक्त कार्यको सर्वत्र विरोध गरिएको छ। ईलाका प्रहरी कार्यालय बुटवलले सालिक तोडफोडमा संलग्नहरुको खोजि भईरहेको जनाएको छ।


"हामिलाई औपचारिक रुपमा उपमहानगरपालिकाले कुनै जानकारी गराएको छैन, स्थानीयले जानकारी गराएपछि आफ्नै हिसाबले खोजि गरिरहेका छौं।"ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक ठग बहादुर केसीले बताए।केसीका अनुसार बुधबार राति करीव २ बजेतिर केेहि युवाले सालिकको टाउको निकालेर बाेरामा हालेर लैजादै गरेको सिसिटिभी फुटेजमा देखिएकाेले त्यसकै आधारमा खाेजी गरिएको छ।बुटवल उपमहानगरपालिकाका योजना महाशाखा प्रमुख सुमन श्रेष्ठले सालिक फुटालेर टाउको गायब पारिएको सन्दर्भमा निर्माण व्यवसायीसंग बुझ्ने काम भएको बताए। बुटवल उपमहानगरपालिकाले करिब १ करोड रुपैयाको लागतमा गौतमबुद्ध, रामापिथेकस र उजिरसिंहका ४६ वटा सालिक निर्माण सुरु गरेको थियो।


बुटवल उपमहानगरपालिकाको योगिकुटीदेखि अस्पताल लाईनसम्म ३२ वटा गौतमबुद्धका, अस्पताल लाईनदेखि तिनाउ पुलसम्म उजिरसिंहका १० वटा र पुष्पलाल पार्कदेखि गोलपार्क सम्म ७ वटा रामापिथेकसका सालिक र मुर्ति राख्ने उपमहानगरपालिकाको योजना छ।यसअघि बुटवल बेलहिया ६ लेन सडकखण्डमा तिलोत्तमा नगरपालिकाले स्थापना गरेका गौतमबुद्धका मुर्तिहरु पनि तोडफोड गरिएका थिए। तिलोत्तमामा गौतमबुद्धका मुर्ति तोडफोडमा संलग्नहरुलाई पक्राउ गरि कारवाही नगरिएपछि यस्तो कार्यमा संलग्नहरुको मनोबल बढेको हुनसक्ने आंकलन गरिएको छ।

कमेन्ट गर्नुहोस्