लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

१४ प्रतिशतसम्म गाडी भाडा बढाउने सरकारको निर्णय

IMG

चैत्र १७ गते २०७८,तिलोत्तमा सिटी।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारीको भाडा बढाउने निर्णय गरेको छ । आइतबार यातायात व्यवस्था विभागले अन्तरप्रदेश रुटको सूचीसहित नयाँ भाडादर प्रकाशित गर्ने छ ।मन्त्रालय स्रोतका अनुसार यात्रुबहाक तथा मालबाहकसहित पहाडी तथा तराई क्षेत्रका भूगोलअनुसार १० देखि १४ प्रतिशतसम्म भाडा बढाउने निर्णय भएको छ ।पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय भएको हो । संघ सरकारले भाडा बढाएपछि प्रदेश सरकारहरुले पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउने छन् ।भौतिक पूर्वाधार तथा यायायातमन्त्री रेणुकुमारी यादवले अब पेट्रोलियम पदार्थमा न्यूनतम ५ प्रतिशत मूल्य घटबढ हुनासाथ गाडी भाडा समायोजन गर्ने निर्णय पनि गरेकी छिन् ।


अब गाडीका पार्टपूर्जासहित अन्य पक्षको मूल्यवृद्धिको हरेक वर्ष चैतमा पुनरावललोकन गरेर भाडा समायोजन हुनेछ । सवारीको वैज्ञानिक भाडा समायोजन गर्ने व्यवस्थाअनुरुप अहिलेसम्म पेट्रोलमा ५ रुपैयाँ मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्था थियो । तर, सो व्यवस्था प्रभावकारी नभएपछि विभागले ५ प्रतिशत मूल्य घटबढ भएमात्रै समायोजन गर्ने व्यवस्था गरिएको हो ।नयाँ व्यवस्था भएपछि तेलको मूल्य बढ्दा सवारी भाडा पनि बढ्ने र घट्दा पनि घट्ने सुनिश्चित हुने मन्त्रालयका एक अधिकारीले बताए । मन्त्रालयको निर्णयमा यातायात व्यवसायीले पनि सहमति जनाएका छन् ।डिजल–पेट्रोलको मूल्यले नयाँ रेकर्ड कायम गर्ने क्रम चलिरहँदा यातायात व्यवसायीले मूल्यवृद्धि फिर्ता लिन वा भाडा समायोजन गर्न माग गर्दै आएका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आफ्नो मागमा बेवास्ता गरेमा आफैंले भाडा समायोजन गरेर उठाउने चेतावनी दिंदै आएको थियो।अहिले पेट्रोलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ र डिजल प्रतिलिटर १३८ रुपैयाँ पुगेको छ । पेट्रोलियमको मूल्यवृद्धि र गाडी भाडा वृद्धिको मार भने सार्वजनिक सवारीका प्रयोगकर्ताहरुलाई पर्ने अवस्था आएको छ । २७ असार २०७८ मा सरकारले सार्वजनिक सवारीको भाडा बढाएयता डिजल–पेट्रोलको मूल्य प्रतिलिटिर ३४ रुपैयाँले बढिसकेको छ ।

कमेन्ट गर्नुहोस्