लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कालीगण्डकी नदी छिट्टै विश्व सम्पदा सूचीमा : मुख्यमन्त्री पोखरेल

IMG

चैत्र ३ गते २०७८,तिलोत्तमा सिटी। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक महत्व बोकेको कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालेको बताएका छन् ।स्याङ्जाको चापाकोट नगरपालिका–८ खोरियाघाटमा आयोजित एक कार्यक्रममा कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसँग समन्वय गरिएको जानकारी गराएका हुन् । उनले कालीगण्डकी नदी छिट्टै विश्व सम्पदा सूचीमा सूचिकृत हुने विश्वास व्यक्त गरे ।रामदी नजिकै डाइभर्सन बनाएर कालीगण्डकीको पानी तिनाउमा मिसाउन संघ सरकारको आयोजना कुनै हालतमा हुन नदिने पनि उनले प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘कालीगण्डकी नदी अन्य नदीजस्तो होइन, यसको छुट्टै महत्व र विशेषता छ, कालीगण्डकी हाम्रो सभ्यता, आस्था, भावना र शालिग्रामसँग जोडिएको छ ।


’विश्वको इतिहासको अध्ययन गरिरहेका पश्चिमाहरुले समेत अहिले शालिग्रामलाई आधार मानेर अनुसन्धान गरिहेको उनले सुनाए । गण्डकी प्रदेश सभामा यसअघि नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा पनि डाइभर्सनको विरोधमा आवाज उठाएको स्मरण गर्दै उनले अहिले सरकारमा रहँदा पनि उक्त योजनाको सशक्त विरोध गरिरहेको उनले बताए ।कालीगण्डकी डाइभर्सनका लागि बुटवलमा कार्यालय खोलेपछि गण्डकी प्रदेश सरकारले वृहत भेला डाकेर प्रदेशको साझा धारणा समेत गत असारमा सार्वजनिक गरिसकेको छ । त्यसलगत्तै सरकारले कालीगण्डकीको धार्मिक, सांस्कृतिक, सामाजिकका साथै आर्थिक महत्वका साथै सम्भाव्यताका बारेमा अध्ययन गर्न समिति पनि गठन गरेको छ । प्रदेश नीति तथा योजना आयोगको सदस्य डा. सुवास अधिकारी संयोजक रहेको टोलीले अब केही दिनमा अन्तिम प्रतिवेदन बुझाउने मुख्यमन्त्री पोखरेलले बताए।

कमेन्ट गर्नुहोस्