
तिलोत्तमा सिटी, फाल्गुण ७ गते २०७८।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असंलग्न परराष्ट्र नीतिमा आँच पुग्ने कुनै काम गर्न नदिइने बताएका छन् । शनिबार बानेश्वरमा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालले अमेरिकी सहयोग परियोजना एमसीसीबारे अमेरिका र चीनको अभिव्यक्ति गम्भीर रहेको बताए। तर आफूहरु कुनै पनि शक्ति राष्ट्रको पक्षमा नउभिने अध्यक्ष नेपालको भनाइ छ । ‘कुनै पनि शक्ति राष्ट्रले निर्माण गरेको ब्लकमा सामेल भइने छैन । नेपालको संविधान र कानुनलाई तल पार्ने काम गर्न दिइने छैन’, बैठकमा अध्यक्षले नेपालले राखेको धारणा उधृत गर्दै एक नेताले भने ।
एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा नेपालका राजनीतिक दलहरुबीच विवाद बढ्दै गएका बेला अमेरिका र चीन दुबैले प्रतिक्रिया सार्वजनिक गरेका छन्। अमेरिकाले गत हप्ता नेपालमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेतालाई टेलिफोन गरी एमसीसी अनुमोदन गर्न दबाब दिएको थियो ।त्यसप्रति चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिङले अमेरिकाले एमसीसीमा बलजफ्ती कुटनीति अपनाएको प्रतिक्रिया दिएका थिए । ‘दुवै देशको अभिव्यक्ति गम्भीर हो । तर कसैको गठबन्धनमा नउभिनेमा प्रष्ट हुनुपर्छ’, ती नेताले अध्यक्ष नेपालको भनाइ सुनाए ।
कमेन्ट गर्नुहोस्