लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘भ्‍यालेनटाइन डे’मा ५० हजार बढी रातो गुलाब भारतबाट आयात गरिने

IMG

२०७८ माघ २२ , तिलोत्तमा सिटी।  स्वदेशी उत्पादन कम भएकाले विगत वर्षभन्दा यसवर्ष प्रेम दिवसका लागि भारतबाट ५० हजार बढी रातो गुलाब आयात गरिने भएको छ ।कारोनाको कारण विगत दुई वर्षदेखि व्यापारीले यस व्यवसायमा थप लगानी नभएको तथा माघको सुरुवातदेखि घाम नलागेका कारण यसवर्ष रातो गुलाब उत्पादनमा कमी आएकाले आयात वृद्धि गर्नुपर्ने भएको हो ।प्रेमको प्रतीक मानिने रातो गुलाबको गतवर्ष एक लाख ८० हजार स्टिक बजार माग रहेको थियो भने यसवर्ष बजार माग ५० हजार स्टिकले बढेको छ ।


अघिल्लो वर्ष बजार मागको २० प्रतिशत स्वदेशी उत्पादन थियो । अहिले मागको १० प्रतिशत मात्र धान्ने अवस्था रहेको फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।अध्यक्ष तामाङका अनुसार यसवर्ष दुई लाख ५० हजार स्टिक गुलाब खपत हुने अनुमान गरिएको छ । हरेक वर्ष दुई करोड गुलाबको आर्थिक कारोबार हुने गरेको छ । यसरी ल्याइने फूलमध्ये ४० प्रतिशत काठमाडौं उपत्यकामा र अन्य बाँकी देशका मुख्य सहरमा खपत हुन्छ । यसवर्ष उपभोक्ताले गुलाबप्रति स्टिक ८० देखि १०० रुपैयाँ सम्ममा खरिद गर्नुपर्ने बताइएको छ ।


यो मूल्य विगतमा भन्दा बढी हो । हरेक वर्ष फेब्रुअरी १४ मा प्रणय दिवस (भ्यालेन्टाइन डे) मनाइँदै आएको छ । नेपालमा वार्षिक रूपमा डेढअर्ब फूलको आर्थिक कारोबार हुने गरेको छ । तिहारमा मात्र सात करोडको फूलको कारोबार हुँदै आएको छ । त्यसैगरी करिब पाँच करोड फूल वार्षिक रूपमा आयात हुने गरेको छ ।मुख्यगरी कातिकदेखि फागुनसम्ममा फूलको बढी खपत हुने गरेको छ । प्रणय दिवसमा रातो गुलाब र तिहारमा सयपत्री फूल आयात गर्नुपरे पनि नेपाल मखमली र गोदाबरी फूलमा आत्मनिर्भर बनिसकेको छ । तिहारको समयमा अस्ट्रेलिया र मलेसियामा तिहारमा मखमली फूल निर्यातसमेत हुने गरेको छ ।


कमेन्ट गर्नुहोस्