
तिलोत्तमा सिटी,माघ १३ गते २०७८। बाघको सङ्ख्या दोब्बर बनाए बापत नेपालको बर्दिया राष्ट्रिय निकुञ्जले विश्व वन्यजन्तु कोष डब्ल्यूडब्ल्यूएफको महत्त्वपूर्ण पुरस्कार जितेकाे छ । भारतको सत्यमङ्गलम् टाइगर रिजर्भले पनि बाघकाे सङ्ख्या दाेब्बर बनाए बापत बर्दिया निकुञ्जसँगै पुरस्कार जितेकाे छ ।सन् २०१० यता जङ्गली पाटेबाघको सङ्ख्या दोब्बर बनाए बापत बर्दिया राष्ट्रिय निकुञ्जले डब्लुयूडब्ल्यूएफको टीएक्सटु (TX2) पुरस्कार पाउने भएको हो । बाघ संरक्षणको उत्कृष्ट कामका लागि बर्दिया निकुञ्जको खाता वन संरक्षण क्षेत्रलाई यो पुरस्कार प्रदान गरिने डब्ल्यूडब्ल्यूएफ नेपालले जनाएको छ ।
खाता संरक्षण क्षेत्रले नेपाल–भारत सीमा क्षेत्रमा बाघको संरक्षणमा ठूलो भूमिका खेल्दै आएको छ । यो पुरस्कार यसै वर्षको सेप्टेम्बरमा रुसको भ्लादिभोस्तोक सहरमा हुने बाघ संरक्षणसम्बन्धी समारोहको अवसर पारेर प्रदान गरिनेछ ।सन् २००९ मा बर्दियामा बाघको सङ्ख्या २० भन्दा थोरै रहेकोमा सन् २०१८ मा बढेर झन्डै ९० काे हाराहारीमा पुगेको छ । यस्तै भारतको सत्यमङ्गलम् टाइगर रिजर्भमा सन् २०११ मा २५ वटा बाघ रहेकोमा अहिले बढेर ८० काे हाराहारीमा पुगेकाे डब्ल्यूडब्ल्यूएफले जनाएको छ ।
टाइगर्स अलाइभ इनिसिएटिभका प्रमख स्टुअर्ट च्यापम्यानले बाघ संरक्षणमा स्थानीयवासीले देखाएको संरक्षण निकै तारिफयोग्य र असाधारण रहेको बताएका छन् । यस्तै एकीकृत आवास कार्यक्रम आईयूसीएनका संयोजक सुगोतो रोयले बाघको वासस्थानको सुधार, सिकारीको कडा अनुगमन र स्थानीयवासीको इमाादारिताका कारण बाघ संरक्षणमा राम्रो नतिजा देखिएको र यसबाट बाँकी विश्वले पाठ सिक्नुपर्ने बताउनुभएको छ ।
कमेन्ट गर्नुहोस्