
तिलोत्तमा सिटी,माघ ९ गते २०७८। सबल आर्थिक केन्द्र समुन्नत बुटवलका माध्यमबाट समृद्ध बुटवल खुशी जनताको लक्ष्य साकार पार्ने भन्दै निर्माण गरिएको बुटवलको सहरी विकास गुरुयोजनामा सडक सञ्जाल विस्तार र स्तरोन्नतीलाई प्राथमिकतामा राखिएको छ । सोही अनुरुप बुटवलका अधिकांश सडक स्तरोन्नित र विस्तार हुँदैछन् । राष्ट्रिय राजमार्गका सडक खण्डमा ढिलाई भएपनि उपमहानगर मातहत रहेका आन्तरिक र बाइपासका अधिकांश सडक राजमार्ग सरह विस्तार भइरहेका छन् ।यसैक्रममा मुलुककै धेरै जनसंख्या रहेको बुटवल वडा नं ११ का सडकलाई विस्तार तथा स्तरोन्नति गर्ने काम अगाडि बढेको छ । उक्त वडाका बेलबास–बुद्धनगर, मिलनचौक–चौपारी, देवि पथ, रङ्गशाला पथ र शान्ति पथलाई स्तरोन्नित र विस्तार गर्ने काम सुरु भएको छ ।
१० करोड लगानीमा दुईवटा बाइपास सडकको स्तरोन्नती हुने:
यहाँका सडकलाई बुटवल चक्रपथ, बुटवल पर्यटन सर्किट, तिलोत्तमा चक्रपथ, सैनामैना चक्रपथ, भैरहवा–लुम्बिनी सडक र विमानस्थलमा जोडिने ठूला मार्गमा जोडिने छन् । तीमध्येका प्रमुख बाइपास सडक देवी पथ र रङ्गशाला मार्ग विस्तार एवम् स्तरोन्नति कार्यको शुक्रबार नगर प्रमुख शिवराज सुवेदीले शिलान्यास गर्नुभएको छ । करीब १० करोड लगानीमा यी दुई बाइपास सडकको स्तरोन्नती गरिँदैछ । शिलान्यास समारोहमा उहाँले विकास निर्माणका कामलाई साझा मुद्दा बनाएर सहकार्य गर्न सबैसंग आग्रह गर्नुभयो । बुटवलको आवधिक र दीर्घकालीन योजनालाई साकार पार्नेतर्फ अहिले आवधिक योजनाहरु पूरा हुने अवस्थामा पुगेको र दीर्घकालीन योजनाहरुलाई पनि तीब्रता दिइएको प्रमुख सुवेदीले बताउनुभयो ।
रंगशाला मार्गमा नाली, फुटपाथ, हरियाली क्षेत्र सडक बन्नेछ । यसका लागि कुल बजेट ९ करोड ६१ लाख ५१ हजार ९ सय २४ रुपैयाँ लागत अनुमान गरिएकोमा निर्माण कम्पनी रायमाझी प्रदीप जेभी बुटवलले ६ करोड ७० लाख १४ हजार छ सय १० मा ठेक्का सम्झौता गरि काम सुरु गरेको छ । आगामी जेठ १५ गतेसम्म उक्त सडक निर्माण सक्नुपर्ने गरि सम्झौता भइ काम सुरु भएको इन्जिनियर रुक्मागत बस्यालले जानकारी दिनुभयो । उक्त सडकको बजेट स्रोत संघीय सरकारको समपुरक अनुदान हो । यस्तै बुटवल–११ कै देविपथको बाइपास सडक लुम्बिनी प्रदेश सरकारको आधा र बुटवल उपमहानगरपालिकाको आधा गरी कुल ३ करोड लागत सहभागितामा निर्माण सम्पन्न हुनेछ । देवसिद्ध चोक देखि सिमाना सडकसम्म दुबैतर्फ नाली, कल्भर्ट तथा सबग्रेड, हरियाली क्षेत्र, फुटपाथ निर्माण गरिने छ ।
यी दुबै महत्वपूर्ण सडक योजनाको शिलान्यास समारोहमा प्रमुख सुवेदीसहित उपप्रमुख गुमादेवी आचार्य, प्रवक्ता रामप्रसाद रेग्मी, वडाअध्यक्ष रामचन्द्र क्षेत्री, राजनीतिक दलका नेताहरु, वडाका जनप्रतिनिधिहरू, इन्जिनियरहरु, टोल विकास संस्थाका अगुवाहरुको सहभागिता थियो ।संघीय सरकार, मातहतका निकाय, प्रदेश सरकार र मातहतका कार्यालयले बुटवलको सडक सञ्जाल विस्तार र स्तरोन्नतिमा सहकार्य गरेका छन् । रुपन्देहीलाई विकासको रोलमोडल बनाउने संकल्पकर्ता र त्यसलाई साकार पार्ने काममा निरन्तर समर्पित नेपाल सरकारका पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अगुवाइमा बुटवल सहित यहाँका अधिकांश पालिकामा विकास निर्माणका काम तीब्र भइरहेका छन् ।
बुटवलको मुख्य भागबाट गएको राजमार्गको चौराहा–गोलपार्क खण्डको काम पनि ठेकेदारले ढिलोगरि अहिले अगाडि बढाएको छ । यस्तै बेलबास–बेथरी सडकको बाँकी खण्ड, बेलबास–नुवाकोट खण्डका अधुरा काम समेत अहिले अगाडि बढिरहेको उपमहानगरका प्रवक्ता तथा पूर्वाधार विकास समितिका प्रमुख रामप्रसाद रेग्मीले बताउनुभयो ।बुटवलको नमुना सडक कालिका पथको विस्तार र स्तरोन्नतिको काम पनि चलिरहेको छ । सडक क्षत्राधिकारमा बनेका संरचना हटाउन ढिलाइ गरेकाले, साइट क्लियरमा ढिकाइ गरिएकाले र कोरोना महामारी तथा लगातारको वर्षाले विकास निर्माणका अधिकांश काम प्रभावित भएको अवस्था छ ।
कमेन्ट गर्नुहोस्