
२०७८ मङ्सिर २४, तिलोत्तमा सिटी। नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । शुक्रबार दिउँसो काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन सत्र सम्पन्न गरेको कांग्रेसको बन्दसत्र राति ८ बजेबाट सुरु भएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले शनिबारदेखि निर्वाचन प्रक्रियामा जानुपर्ने भएकाले बन्दसत्र सुरु भएको बताएका छन् । उनले बन्दसत्रमा सबै महाधिवेशन प्रतिनिधिहरूलाई सहभागी हुन आग्रह समेत गरेका थिए तर राति ८ बजेबाट सुरु गर्ने भनिए पनि ढिला गरि बन्दसत्र सुरु भएको हो । प्रधानमन्त्री एवं सभापति बन्दसत्र स्थलमा प्रवेश गरेका छन् । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने बन्दसत्रमा उपस्थित छैन । पौडेल पक्ष सभापतिमा साझा उम्मेदवार चयनका लागि बत्तिसपुतली स्थित अनुपम फुड ल्याण्डमा छलफलमा रहेको छ । बन्दसत्रमा कोषाध्यक्ष सितादेवी यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी छन् ।
महाधिवेशनको शुक्रबार उद्घाटन
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको शुक्रबार उद्घाटन गरिएको छ । काठमाडौंको भृकुटीमण्डपमा भएको उद्घाटन समारोहमा नेपाल र भारतका विभिन्न राजनीतिक दलका नेताहरुले कांग्रेसलाई शुभकामना दिए ।शुभकामना दिन भारतीय राष्ट्रिय कांग्रेस र भारतीय जनता पार्टीका नेता आएका थिए भने नेपालका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेकपा मालेका महासचिव सीपी मैनाली लगायतका नेता पुगेका थिए ।महाधिवेशन उद्घाटन समारोहमा विभिन्न जातजातिको साँस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको थियो । कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन दबाव नदिने बताएका थिए । यद्यपि भृकुटीमण्डपस्थित खुला स्थल कांग्रेस कार्यकर्ता र शुभेच्छुकले भरिएका थिए ।
कमेन्ट गर्नुहोस्