लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बौद्धस्थल रहेका ४ पालिका र स्पेनको नगरबीच भगिनी सम्बन्ध

IMG

तिलोत्तमा सिटी,१३  कार्तिक २०७८। स्पेनको काथेरेस नगरसहित रुपन्देही र कपिलवस्तु र नवलपरासीका गरी विभिन्न ४ नगरबीच भगिनी सम्बन्ध कायम भएको छ ।स्पेन सरकारको काथेरेस नगरपालिका, काथेरेस प्रादेशिक सरकार संस्कृति पर्यटन तथा खेलकुद मन्त्रालय र कपिलवस्तु नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका र रामग्राम नगरपालिकाबीच आज कपिलवस्तुको प्राचीन तिलौराकोट दरवार क्षेत्रमा भगिनी सम्बन्ध स्थापनाका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।शाक्यमुनि बुद्धले २९ वर्ष बिताएको प्राचीन तिलौराकोट दरवार क्षेत्रमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्पेनको काथेरेस प्रादेशिक सरकारका प्रतिनिधीहरुको रोहवरमा दुवै देशका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह, लुम्बिनी सांस्कृति नगरपालिकाका प्रमुख मनमोहन चौधरी, देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री र रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले हस्ताक्षर गरेका छन् । त्यसै गरी स्पेन सरकारको काथेरेस नगरपालिकाका प्रमुख, काथेरेस प्रदेश सरकारका प्रतिनिधिहरुले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।


कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्पेन र नेपालबीचको सम्बन्ध प्रगाढ बनाउन र दुवै देशबीच आपसी सम्बन्ध, भाइचाराका साथै विकास निर्माणको क्षेत्रमा समेत फड्को मार्न यस्तो भगिनी सम्बन्धले ठूलो सहयोग पुर्याउने अपेक्षा गरिएको बताउनुभयो ।स्पेनमा रहेको लुम्बिनी गार्डेन फाउण्डेशनका उपाध्यक्ष गोविन्द सुवेदीको पहलमा नेपालका बौद्धस्थल रहेका ४ नगरपालिका र स्पेनको काथेरेस नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनाका लागि प्रयास शुरु भएको हो ।संसारभर अहिंसा, शान्ति, सद्भाव र भाइचाराको सन्देश प्रवाह गर्ने शान्तिका अग्रदूत गौतमबुद्धको भूमिमा आएर बुद्ध नगरहरुसँग भगिनी सम्बन्ध राख्ने कार्यको शुभारम्भ गर्न पाउँदा आफूहरु निकै खुशी रहेको काथेरेस नगरका प्रमुख, प्रदेश सरकारका प्रतिनिधिहरुले बताएका छन् ।गौतम बुद्धको जन्मस्थल लुम्बिनी, २९ वर्ष बिताएको क्रिडास्थल कपिलवस्तु, मावली देवदह र अष्ट धातु राखिएको स्थल रामग्राम क्षेत्रको महत्वलाई बुझेर स्पेनको काथेरेस नगरले यी क्षेत्रका ४ नगरहरुसँग भगिनी सम्बन्ध स्थापना गर्न तयार भएको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताको भनाइ छ ।

कमेन्ट गर्नुहोस्