लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

महाधिवेशनमा १ हजार ९ सय ९९ प्रतिनिधि सङ्ख्या पुर्‍याउने एमालेकाे निर्णय

IMG

तिलोत्तमा सिटी,१२ कार्तिक २०७८। नेकपा एमालेले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको सङ्ख्या एक हजार नाै सय ९९ पुर्‍याउने निर्णय गरेको छ । ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आज शुक्रवार बसेको पार्टी केन्द्रीय कमिटी बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूको सङ्ख्या बढाएर एक हजार नाै सय ९९ पुर्‍यउयाने निर्णय गरेको हो । पार्टीका केन्द्रीय सदस्यहरूले प्रतिनिधि सङ्ख्या बढाउने प्रस्ताव गरेपछि झन्डै चार सय प्रतिनिधि थप गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । 


बैठकले आउँदाे कात्तिक २७ गते देशभर एकै साथ प्रतिनिधि चयनका लागि चुनाव गर्ने कार्यक्रम पनि तय गरेको छ । त्यसैगरी बैठकले महाधिवेशन मूल व्यवस्थापन कमिटीमा दुई सदस्य थप गरेर २३ पुर्‍याउने निर्णय पनि गरेको छ । पार्टी स्थायी कमिटीका सदस्य रघुजी पन्त र कार्यालय सचिव शेरबहादुर तामाङलाई पनि महाधिवेशन मूल व्यवस्थापन कमिटीमा थप गर्ने निर्णय गरिएको प्रवक्ता ज्ञवालीले बताउनुभयो ।एमालेले महाधिवेशनमा प्रयोग गर्ने विद्युतीय मतदान मेशिनको पनि परीक्षण गरेको छ । मेशिनको परीक्षण गर्दै बैठकले त्यसलाई महाधिवेशनका प्रयोग गर्ने निर्णय पनि गरेको हो ।


बैठकले पार्टीको अर्काे केन्द्रीय कमिटीको बैठक आउँदाे मङ्सिर ९ गते महाधिवेशनको अघिल्लो दिन चितवनको सौरहामा गर्ने निर्णय पनि गरेको एमालेले जनाएको छ । बैठकमा बोल्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनलाई भव्यताका साथ सफल बनाउन पार्टीका नेता, कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको छ । उहाँले बाँकी रहेका पार्टीको वडा र पालिका अधिवेशन छिटो सम्पन्न गर्न पनि सम्बन्धित कमिटीका नेताहरूलाई सचेत गराउनुभएको पार्टीका प्रवक्ता ज्ञवालीले बताउनुभयो । 

कमेन्ट गर्नुहोस्