
तिलोत्तमा सिटी,११ कार्तिक २०७८। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन आगामी निर्वाचनसम्मै कायम राख्ने बताएका छन् ।बिहीबार धनगढी विमानस्थलमा समाजवादी प्रेस संगठन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले भने, ‘चुनावी तयारीमा जुट्नुपर्ने बेला भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको पाँच दलीय गठबन्धन चुनावसम्मै कायम राख्ने धारणा बनाएका छौं ।’
उनले एकीकृत समाजवादी पार्टीले चुनावलाई लक्षित गरेर पार्टीको संगठन निर्माण तथा सदस्यता वितरणलाई तीव्रता दिइरहेको पनि जानकारी गराए ।जनताको चाहाना पूरा गर्नका निमित्त आफूहरू सरकारमा सहभागी भएको उनको भनाइ छ ।बाग्मती प्रदेशमा बिहीबार गठबन्धनका तर्फबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्न लागेको र प्रदेश नम्बर १ मा पनि कात्तिक १५ गतेभित्रै आफूहरूको सरकार बन्ने अध्यक्ष नेपालले बताएका छन् ।
कमेन्ट गर्नुहोस्