
तिलोत्तमा सिटी,८ कार्तिक २०७८। कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ ।सोमबार बसेको बारको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै राजीनामा मागेको हो । ‘हामीले उहाँबाट निकास हुनुपर्छ भन्ने निर्णय गरेका छौं’ बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘यसको औपचारिक निर्णय र सार्वजनिक भोलि हुन्छ । भोलि सबै सल्लाहकारहरुसँग बृहत छलफल गरेपछि निर्णय सार्वजनिक गर्छौं ।’श्रेष्ठले अघि भने, ‘हामीले अहिले उहाँले निकास दिनुपर्छ भनेका हौं, न्यायपालिकाभित्रै मिलाउन सक्नुभएन । उहाँको काम कारवाहीमा अरु सहकर्मीहरु नै असन्तुष्ट बने । यसले त उहाँबाट नेतृत्व हुनसक्ने देखिएन नि । त्यसैले निकास दिनुपर्छ भनेका हौं ।
यति भनिसकेपछि पनि निकास के हो ? निकास के हो ? भन्नै पर्दैन । स्पष्ट छ ।’बारको आकस्मिक बैठकबाट भएको यो निर्णय मंगलबारको सल्लाहकार परिषदको बैठकपछि थप परिपक्व हुने बताए । त्यसपछि निर्णय सार्वजनिक गरिने अध्यक्ष श्रेष्ठको भनाइ छ । मंगलबारकै छलफलमा कसरी अघि बढ्ने भन्नेबारे पनि तय हुने उनले बताए ।न्यायपालिकामा देखिएका विकृति, विसंगति अन्त्य गर्न नसकेको भन्दै पूर्वन्यायाधीश समाजले प्रधानन्यायाधीशले निकास दिनुपर्ने नभए प्रतिनिधिसभाले आफ्नो संवैधानिक दायित्व पूरा गर्नुपर्ने बताएको थियो ।त्यस्तै न्यायपालिका शुद्धिकरण अभियानमा रहेका वरिष्ठ कानुन व्यवसायीहरुले पनि प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।
कमेन्ट गर्नुहोस्