लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

निजी हवाई व्यापारमा व्यस्त, वायुसेवा निगम हेर्याहेर्यै

IMG

तिलोत्तमा सिटी,२८ असोज २०७८।  हवाई सेवा प्रदायक कम्पनीका लागि दसैँ विजनेसको उपयुक्त अवसर हो । निजी क्षेत्रका वायुसेवा प्रदायकलाई दसैँको व्यापार भ्याइनभ्याई भइरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यापार भने सुस्त छ । अथवा भनौँ आन्तरिक उडानमा निगमको उपस्थिति मात्रै छ । किनकि निगमसँग उडानका लागि आवश्यक जहाज नहुनु तथा भएकाको पनि कुशल व्यवस्थापन हुन नसकेका कारण निगमका जहाज घाम ताप्ने निजीकाले व्यापार गर्ने मात्रै भएको देखिन्छ ।यो अवस्थालाई चित्रित गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमलाई सबल र प्रभावकारी बनाउने उद्घोष गरेका थिए । यही असोज २२ गते सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणका क्रममा मन्त्री आले भन्दै थिए, ‘वायुसेवा निगमका जहाज घाममा सुकिरहेका छन् । जहाज घाममा सुकाएर त पैसा आउँदैन । जनताले निजी एयरलाइन्सलाई विश्वास गर्ने तर सरकारी एयरलाइन्सलाई किन अविश्वास गरे यसको समाधान खोज्न जरुरी छ।’


पर्यटनमन्त्री आलेले देशका पहाडी सबैजसो जिल्लामा रु १० देखि १५ करोड खर्चेर विमानस्थल बनेका भए पनि साना ट्विनअटर र एटीचार जहाजको अभावले सेवा सञ्चालनमा कठिनाइ भइरहेको भन्दै आफ्नो ध्यान त्यसतर्फ केन्द्रित हुने बताएका थिए ।पर्यटनमन्त्रीले भनेजस्तै अहिले आन्तरिक उडानमा आम्दानी गर्ने महत्वपूर्ण अवसर पनि हो । पदयात्रा र पर्यटनका लागि उपयुक्त मौसमका साथै दसैँ, तिहार र छठजस्ता पर्वले आन्तरिक उडानमा यात्रु भरिभराउ छन् । एयरलाइन्सको व्यापार बढेको छ । दसैँका लागि ७० प्रतिशतभन्दा बढी टिकट बुकिङ छ ।

अहिले सर्वसाधरणले सामान्य तवरले सिट पाउनै मुस्किल छ । सोर्सफोर्सका भरमा मात्रै यात्रुले हवाई टिकट पाउँछन् । आन्तरिक हवाई यात्रुको माग बढिरहँदा सरकारी लगानीको वायुसेवा निगम निरीह बनेको छ । निजीले व्यापार ओगट्ने निगम रमिते जस्तो मात्रै बनेको छ ।

कमेन्ट गर्नुहोस्