लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा आक्रोशित ओली, सरकार बुख्याँचा,माधव नेपाल अपराधी

IMG

तिलोत्तमा सिटी, ३० भदौ २०७८। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई बुख्याँचासँग तुलना गरेका छन् । नेकपा एमाले रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले यो सरकारले बुख्याँचा जत्तिको पनि काम गर्न नसकेको टिप्पणी गरे ।‘बुख्याँचाले बरु बाली खान आउनेलाई तर्साउँछ तर यो सरकारले त त्यसो पनि गर्न सकेको छैन,’ ओलीले भने । ओलीले यो सरकारले विकासका काम देख्नै नसक्ने आरोप लगाए । आफू नेतृत्वको तत्कालीन सरकारले गरेको कामबाट वर्तमान सरकार आत्तिएको उनको भनाइ छ ।


यो सरकारले विकासका काम देख्नै सक्दैन, हामीले गरेका नियुक्ति खारेज गरेर अयोग्य व्यक्ति नियुक्त गरेको छ,’ ओलीले भने, ‘हामीले शिलान्यास गरेका सडक, स्वास्थ्यजस्ता पूर्वाधार निर्माणलाई खारेज गरेको छ ।’आफ्नो सरकार विकासका लागि सयौं सडक, अस्पतालजस्ता पूर्वाधार निर्माणमा अगाडि बढेको देखेर प्रतिक्रियावादीहरुले सरकार ढालेको ओलीले आरोप लगाए ।‘हामीले शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण र सामाजिक उत्थानमा खेलेको भूमिका देखेर हामीलाई रोक्ने प्रयास गरियो,’ ओलीले भने, ‘हाम्रो सरकार तीव्र विकासको गतिमा अगाडि बढेको थियो । तर अहिले हेर्नुस् त दुई महिना भयो मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।’गठबन्धनको सरकारले गति लिन नसकेको बताउँदै उनले देउवा सरकारले जनताको अपेक्षा पूरा गर्न नसकेको दाबी गरे ।


माधव नेपाललाई भने ‘अपराधी’

अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई जनविरोधी अपराधी भएको गम्भीर आरोप लगाएका छन् । ‘माधव नेपाललाई कामरेड भन्न मिल्दैन, उनले पार्टीलाई ध्वस्त पार्ने काम गरे,’ ओलीले भने, ‘साथीहरु भन्नुहुन्छ, माधव नेपाल कामरेड । उनी कामरेड होइन, उनी एमाले विरोधी, जनविरोधी अपराधी हुन् ।’माधव नेपाल सधैं पार्टी नेतृत्वको सरकारको विरोध गरेर आफ्नै सरकार ढाल्ने पात्र भएको आरोप लगाए ।  ‘गरिबको आँशुले पोल्छ तिमीलाई भन्ने गीतमा जस्तै माधव नेपाललाई पोल्नेछ,’ उनले भने ।




पार्टी कब्जा नसकेपछि कांग्रेसको पछि लागे : विष्णु पौडल

नेकपा एमालेका उपमहासचिव तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडलले माधव नेपाल पक्षमा केही स्वार्थी र महत्वाकांक्षी मान्छेहरू मात्रै लागेको टिप्पणी गरेका छन् ।उनले एक्लै  माधव नेपालको पार्टीले एक सिट नजित्ने र कुनै एक क्षेत्रमा जमानत पनि जोगाउन नसक्ने दावी गरे । प्रचण्ड र माधव नेपालले शुरूमा नेकपा र त्यसपछि एमाले कब्जा गर्न असफल भएपछि कांग्रेसको पछि लागेको टिप्पणी गरे ।बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेल माधव नेपालप्रति आक्रामकरूपमा प्रस्तुत भएका थिए । उनले नेकपा एसमा लागेकाहरूलाई माधव नेपालमार्फत कांग्रेसको सेवा गर्नुभन्दा सिधै कांग्रेसमा प्रवेश गर्न वा एमालेमा फर्किन सुझाव दिए ।पौडेलले एमाले विभाजनको प्रयास असफल भएको भन्दै माधव नेपाल लगायतका केही स्वार्थी र महत्वाकांक्षी व्यक्तिहरू कांग्रेसतिर लागेको आरोप लगाए । उनले रुपन्देहीमा पार्टी विभाजनको पक्षमा कोही पनि नरहेको दावी गरे ।पौडेलले छिट्टै मुलुक चुनावमा जान लागेको भन्दै एमाले आफ्नो हैसियतसहित सत्तामा आउने बताए ।


असफलहरुको महागठबन्धनले समृद्धि आउदैन : टोपबहादुर रायमाझी

नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र कांग्रेसको पुच्छर बनेको भन्दै कांग्रेसको नेतृत्वमा देशमा समृद्धि नआउने जिकिर गरे ।एमालेविरुद्ध असफल नेताहरुको गठबन्धनले घेराबन्दी गर्ने कोशिश गरेको उनले बताए ।नेकपा एमाले रुपन्देहीको कार्यकर्ता भेलालाई बुधबार बुटवलमा सम्बोधन गर्दै नेता रायमाझीले कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको गठबन्धनलाई असफल नेताहरुको महागठबन्धनले केहि गर्न नसक्ने बताए ।एमालेले महागठबन्धनलाइ असफल पारेर फेरि सत्ताको नेतृत्वमा पुग्ने दाबी गरे ।  ‘विगतमा असफल भएका नेताहरुको महागठबन्धनले एमालेविरुद्ध घेराबन्दी गर्ने चेष्टा गरेको छ । तर एमालेले त्यो घेराबन्दीलाई असफल पार्ने र फेरि सत्ताको नेतृत्वमा पुग्छ ।’

कमेन्ट गर्नुहोस्