
तिलोत्तमा सिटी, २१ भाद्र २०७८, सोमवार । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको आयु बढीमा १५ महिना भएको बताउनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले १५ महिनापछि यो सरकारलाई खोजेर पनि भेट्न नसकिने दाबी पनि गर्नुभयो ।राष्ट्रिय युवा सङ्घ नेपालले सोमवार काठमाण्डाैमा आयोजना गरेको वृहत् युवा भेलामा बोल्दै उहाँले यो सरकारलाई नेपाली नागरिकले छिटो भन्दा छिटो बिदा गर्नुपर्ने भन्दै पार्टीका युवाहरूलाई चुनावकाे तयारीमा जुट्न आह्वान गर्नुभयो ।अध्यक्ष ओलीले वर्तमान सरकारलाई केही दिनको पाहुनाको संज्ञा दिँदै भन्नुभयो, ‘अहिलेको सरकार शाश्वत होइन ।
यो सरकार अलिक दिनको मेजमान, पाहुना । बलजफ्ती आएको पाहुना । थोपरिएको पाहुना । षड्यन्त्रबाट जन्मेको पाहुना । अवैध सम्बन्धहरूको उपज पाहुना । यसलाई नेपाली नागरिकले सकेसम्म छिटो बिदा गर्नुपर्छ । तर छिटै बिदा गर्न सकिँदैन भने पनि हतारिनु पर्ने केही छैन । अर्को मङ्सिरसम्ममा चुनाव गर्नुपर्छ । कति रह्यो विचार गर्नुस् त । भदौ गइ गो, असोज, कात्तिक, मङ्सिर । अब १४ महिना रह्यो । अब १५ महिनामा त यो सरकारलाई खाजेर पनि भेटिँदैन । तपाईँहरू सुत्नु भो भने त यस्ता सरकारहरू त बनिरहन्छन् । तपाईँहरू सुत्नु हुँदैन । तपाईँहरू उठ्नु भाे भने त यस्ता सरकारहरू बिदा हुन्छन् । नागरिककाे सरकार बन्छ । देशभक्त सरकार बन्छ ।’
अध्यक्ष ओलीले भारतीय प्रधानमन्त्री मोदी र एमसीसीविरुद्ध नबोल्न सरकारले दिएको निर्देशनप्रति आपत्ति जनाउँदै सोझै संविधानलाई चुनौती दिने गरी उर्दी जारी नगर्न पनि सचेत गराउनुभयो । नागरिककाे बाेल्ने स्वतन्त्रतालाई समेत बन्देज लगाउन निर्देशन दिएको भन्दै उहाँले यस्तो सरकारलाई मात्रै तानाशाहीको संज्ञा दिन सकिने तर्कसमेत गर्नुभयो । अध्यक्ष ओलीले वर्तमान सरकारले आफ्ना नागरिक बेपत्ता हुँदासमेत भारतीय पक्षसँग कुरा गर्न नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले एमालेलाई एक्ल्याएर देखाउन पनि सत्तारुढ गठबन्धनलाई चुनौती दिनुभयो । उहाँले चुनाव जति नजिक आयो, एमाले प्रवेश गर्नेहरू लहर बढेर जाने दाबी गर्दै आफ्नो पार्टीलाई कसैले पनि एक्ल्याउन नसक्ने बताउनुभयो ।उहाँले सरकारले कामै गर्न नसकेको भन्दै दर्जनौँ प्रश्न गर्नुभयो । उहाँले राष्ट्रियताको सबाल, नागरिकको जिउधनको सुरक्षाको सबालमा छिमेकी देशसँग बोल्ने आँट समेत सरकारले गर्न नसकेको पनि दोहोर्याउनुभयो ।
कमेन्ट गर्नुहोस्