लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा १० कराेडको गुरूयाेजना सहित लुम्बिनी लोक सङ्ग्रहालय बन्दै

IMG

तिलोत्तमा सिटी,९ साउन २०७८,शनिवार। रूपन्देहीको तिलोत्तमा नगरपालिका स्थित डिङ्गरनगरमा यस क्षेत्रका लोक कलाकारहरुको सक्रियतामा लोक सङ्ग्रहालय बन्ने पक्का भएको छ। तिलोत्तमा नगरपालिकाले उपलब्ध गराएको जग्गामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश समिति र जिल्ला कार्य समिति रुपन्देहीले संयुक्त रुपमा उक्त ३ तले लुम्बिनी लोक संग्राहलय बनाउने भएका हुन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ को डिंगरनगरमा सङ्ग्रहालय भवनको शनिबार एक कार्यक्रमकावीच शिलान्यास गरिएको छ ।



प्रतिष्ठानका केन्द्रिय सचिव प्रचण्ड जिसी,लुम्बिनी प्रदेश अध्यक्ष डिल्ली नारायण पाण्डे, रुपन्देही जिल्ला अध्यक्ष दीपक कार्की र तिलोत्तमा वडा नं ४ का अध्यक्ष दिवाकर ढकालले संयुक्त रुपमा भवनको शिलन्यास गरे । ३० / ४२ फिट क्षेत्रफलमा साे भवन बन्नेछ ।शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि सचिव प्रचण्ड जिसीले संंग्राहलय भवन निर्माणका लागि केन्द्रीय कार्यसमितिबाट १ लाख रुपैया प्राप्त हुने जानकारी दिए ।प्रदेश अध्यक्ष डिल्लीनारायण पाण्डेले नेपाली कला संस्कृतिको जर्गेना, संरक्षण र संबर्द्धनमा उल्लेखनीय कार्य गरिने बताए । ‘भवन ७५ लाखको हुनेछ भने १० कराेडको गुरूयाेजना बनाइएको छ ,याे बृहत आयाेजना हाे ।’लुम्बिनी प्रदेश अध्यक्ष डिल्ली नारायण पाण्डेले भने ।



तिलोत्तमा नगरपालिका वडा नं ४ का अध्यक्ष दिवाकर ढकालले प्रदेशकै प्रतिनिधित्व हुनेगरी तिलोत्तमा नगरपालिकामा लोक संग्राहलय स्थापना हुन लागेकोमा खुशी व्यक्त गर्दै यो रुपन्देहीवासीका लागि गौरवको कुरा भएको बताए ।प्रतिष्ठान रुपन्देही अध्यक्ष दीपक कार्कीले नेपाली कला संस्कृतीको संरक्षणको लागि लोक संग्रांहलयको आवश्यकता रहेकोमा अब पुरा हुने बताए ।कार्यक्रममा लोक दोहोरी प्रतिष्ठानका केन्द्रिय सल्लाहाकार खेम हमाल, केन्द्रिय सदस्य दिपक गरौजमगर, पुर्व केन्द्रिय सदस्य नारायण लेकाली, स्थानीय समाजसेवी मित्र न्यौपाने, वेद प्रसाद गुरु·, वडा सदस्य हरिमाया नेपाली र मानकाजी गुरुङ, टोल विकास समितिका अध्यक्ष होम प्रसाद खनाल लगायतको उपस्थिती थियो ।

कमेन्ट गर्नुहोस्