
तिलोत्तमा सिटी,७ साउन २०७८,बिहिवार। कोभिड–१९ महामारी विरुद्ध तिलोत्तमा नगरपालिकाले सञ्चालन गरिरहेका काम, कोरोना विरुद्धको खोप अभियानलगायत नगरपालिकामा भैरहेका स्वास्थ्यसँग सम्बन्धी विषयमा आज संघीय सरकार, स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ.) का प्रतिनिधिहरुले जानकारी लिनुभएको छ । उहाँहरुलाई नगर प्रमुख बासुदेव घिमिरेले नगरपालिकाले गरिरहेका स्वास्थ्य सम्बन्धी काम तथा खोप अभियानको बारेमा जानकारी गराउनुभयो ।
उहाँले पर्याप्त खोप नआउँदा संघीय सरकारले तोकेको समूहले पनि खोप लगाउन नपाएको बताउँदै पर्याप्त खोपको व्यवस्था मिलाउन आग्रह गर्नुभयो । टोलीमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठ, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंह, विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिधि डा. राजेश सम्भाजिराव पाण्डवलगायत सहभागी रहनुभएको थियो । छलफलमा नगर उप–प्रमुख जगेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, स्वास्थ्य शाखा प्रमुख मोतिप्रसाद पौडेल, जनस्वास्थ्य निरीक्षक केशव भट्टराईलगायत सहभागी हुनुहुन्थ्यो ।
स्वास्थ्य मन्त्रालय र डब्लु.एच.ओ. को टोलीले नगरपालिकाले कोरोना महामारी विरुद्ध सञ्चालन गरेका अभियानको प्रशंसनीय रहेको बताउँदै कोरोना परीक्षणको दायरा बढाउन र सचेतना कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो । कोरोना महामारी केही वर्ष कायमैं रहन सक्ने बताउँदै टोलीका प्रतिनिधिहरुले सरकारले क्रमशः खोपको व्यवस्था गर्ने जानकारी गराउनुभयो ।
कमेन्ट गर्नुहोस्