लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विपक्षी गठबन्धनलाई थप बलियो बनाउन र अदालतलाई प्रभाव नपार्न शीर्ष नेताहरुबीच सहमति

tillotmacitynews - 2021 Jun 15 06:04 AM
IMG

असार १ गते मंगलबार २०७८ तिलोत्तमा सिटी।विपक्षी गठबन्धनलाई थप बलियो बनाउन सम्बद्ध दलका शीर्ष नेताहरुबीच सहमति बनेको छ ।एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार छलफल भएको थियो ।उक्त छलफलमा राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धनलाई थप बलियो बनाउने सहमति बनेको हो ।नेता नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार नेताहरुले ‘वर्तमान गठबन्धन एकले अर्कोलाई उपयोग गर्न होइन राष्ट्र, गणतन्त्र, संविधान र लोकतन्त्रको रक्षा एवम् जनताको सुविधा र हितलाई अभिवृद्धि गर्न बनेको हो’ भन्नेमा पुन: स्पष्टता जनाएका छन् । उनका अनुसार नेताहरुबीच समसामयिक राजनीतिक घटनाक्रममाथि पनि समीक्षा भएको छ ।


यसबाहेक नेताहरुले ‘आपसी सम्बन्ध बलियो बनाउने तथा एक आपसमा अविश्वास उत्पन्न गराउने कुराबाट सजग रहने प्रतिबद्धता’ पनि जनाएको गौतमले बताए ।कोभिड महामारी र जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने, तत्काल सबैलाई पुग्नेगरी कोभिड विरूद्धको खोप तथा विपन्नलाई राहत प्याकेज उपलब्ध गराउनसमेत नेताहरुले माग गरेका छन् ।यसैगरी, गठबन्धनका नेताहरुले अदालतमा विचाराधिन मुद्दालाई प्रभावित गर्न सरकारले गरेका प्रयत्नबारे छलफल भएको र अदालतको निष्पक्षतामा र विश्वास प्रभावित पार्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।राज्यका कतिपय अंग र केही संवैधानिक निकायहरूका भूमिकाको निष्पक्षता र निर्णय क्षमतामा गठबन्धनका नेताहरुले आंशका गरेका छन् । उनीहरुले यस्ता निकायबाट निष्पक्ष र समयमा निर्णय गर्न ध्यानाकर्षण पनि गराएका छन् ।


यसैगरी, पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे चासो, चिन्ता एवम् शीघ्र स्वास्थ्यलाभको कामना गरिएको पनि गौतमले बताए ।छलफलमा कांग्रेस नेता पूर्णबहादुर खड्का पनि सहभागी थिए । ई कान्तिपुरमा यो खबर प्रकाशित छ। 

कमेन्ट गर्नुहोस्