
तिलोत्तमा २०७८ बैशाख २३ गते बिहिबार। लुम्बिनी प्रादेशिक अस्पतालमा माैजुदा अक्सिजन सकिएपछि अस्पतालमा उपचाररत बिरामीहरु झन् पिडामा परेका छन् । गएराती आइपुग्नुपर्ने अक्सिजन सप्लायर्सले समयमा आपूर्ति नगर्दा कोरोना संक्रमित झन् थलामा परेका छन् । अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि अस्पतालमा उपचाररत बिरामी ठूलो संकटमा परेका छन्। बिरामीको अत्याधिक चाप, अक्सिजन आपूर्ति पुरानै अवस्था र समयमा अक्सिजन आपूर्ति नहुँदा चरम अभावको अवस्था देखिन थालेको हो । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले अस्पतालमा आज बिहान ११बजेसम्मका लागि मात्र अक्सिजन मौज्दात रहेको र तत्काल थप अक्सिजन आपूर्ति नभए अवस्था बिजाेग हुन सक्ने बताए ।
अस्पतालमा अहिले दैनिक २०० सिलिण्डरको माग रहेको छ । आपूर्ति दैनिक ८० देखि १०० सिलिण्डर मात्र छ । ‘हिजो ६० सिलिण्डर आएको थियो आज कतिबेला कति झर्ने हो थाहा छैन, आपूर्ति नबढाउने हो भने अवस्था खतरा तर्फ जाँदैछ,’उनले भने ।बुटवलमा मात्रै अहिले दैनिक ३०० बढी कोरोना संक्रमित थपिँदै गएका छन् ।अवस्था विकराल बन्दा पनि सरकारी संयन्त्रले के गरिरहेको छ भन्ने प्रश्न उठेको छ ।मानव अधिकार तथा शान्ति समाजका रुपन्देही सभापति डिपि खनालले भने -‘नागरिकको ज्यान बचाँउनु राज्यको पहिलाे दायित्व हाे सरकार सधैँ चुकिरहेको छ ।’
यस्ताे समयमा सबैको हातेमालाे चाहिन्छ - उनले भने ।यता प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेललाई भने फेसबुकमा सवाल-जवाफ र स्टाटस लेख्दैमा भ्याइनभ्याइ छ ।उनले अक्सिजनको मात्रा बढाउने आयात गर्ने बिषयमा भन्दा पनि स्टाटस लेख्दै स्थानिय पालिकाहरुमा जगेडा राखिएको अक्सिजनमाथि आखा लगाई सहयोग गर्न अपिल गरेका छन्। उनले स्टाटस मार्फत अन्य ठाउमा रहेको अक्सिजनका कारण कोरोना अस्पतालमा अभाव भएको बताएका छन्।
कमेन्ट गर्नुहोस्