
तिलोत्तमा २०७८ बैशाख २३ गते बिहिबार। दिनप्रतिदिन गम्भीर अवस्थाका कोरोना संक्रमित थपिँदै जान थालेपछि रुपन्देहीका अस्पतालहरुले थेग्नै नसक्ने भएका छन्। कोरोना संक्रमितहरुको उपचार भइरहेका बुटवल र भैरहवाका सबै अस्पतालका बेड भरिएका छन्।बेड खाली नहुँदै सिकिस्त अवस्थाका नयाँ विरामी आएपछि अस्पतालहरुले भुइँमै फर्म बिच्छाएर विरामीहरुलाई अक्सिजन चढाउने गरेका छन्। बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल र भैरहवाको भिम अस्पतालमा विरामीहरुको अत्यधिक चाप हुने गरेको छ। बुधवार मात्रै रुपन्देहीका विभिन्न अस्पतालहरुमा २ सय ७ जना सिकिस्त अवस्थाका संक्रमितहरुको उपचार भइरहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए। गिरीले बैशाख लागेसँगै गाउंघरमा हुने गरेका विवाह, व्रतबन्ध, चौरासी पूजा जस्ता सामाजिक संस्कार मनाउने क्रममा संक्रमण घरघरमा फैलिएको बताए।
कमेन्ट गर्नुहोस्