
२०७७ चैत २० गते तिलोत्तमा । बाघले मानिसमाथि आक्रामण गर्न थालेपछि बर्दिया राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय बर्दियाले सूचना जारी गरी जंगलमा घाँस-दाउरा काट्न नजान आग्रह गरेको छ । कुनै कारणवश जंगलमा जानै परे समूहमा जान भनिएको छ ।राजमार्ग किनारामा बाघको आक्रमण हुने सक्ने जोखिम बढेसँगै पुस १८ गतेदेखि निकुञ्ज प्रशासनले निकुञ्जको ‘कोर’ क्षेत्रमा पर्ने राजमार्गमा मोटरसाइकल, साइकल र पैदल यात्रुलाई बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म ओहोरदोहोरमा रोक लगाएको छ । यसका साथै सवारी साधनमा लगाइएको ‘टाइम कार्ड’ मा थप कडाइ गरिएको छ ।तीव्र गतिमा सवारीका साधनहरू कुदाउँदा ठोक्किएर वन्यजन्तुहरूको ज्यान जाने गरेपछि निकुञ्जले ‘टाइम कार्ड’ लागू गरेको हो । निकुञ्ज क्षेत्रभित्र रम्मापुरदेखि सैनवारसम्म २२ मिनेट र अम्रेनीदेखि कर्णाली चिसापानीसम्म २२ मिनेट समय तोकिएको छ । यसको अर्थ प्रतिघन्टा ४० किलोमिटरभन्दा कम गतिमा मात्रै यहाँ सवारी साधन चलाउन अनुमति दिइएको छ ।
राजमार्ग क्षेत्रमा बाघबाट थप आक्रमण हुन नदिन निकुञ्जभित्र पर्ने राजमार्गको दायाँ बायाँ ३१/३१ मिटर क्षेत्रमा रहेको झाडी तत्काल सफा गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ ।पाटेबाघको ओहोर दोहोर हुने क्षेत्रको पहिचान गरी पूर्व-पश्चिम राजमार्गको कर्णाली चिसापनी क्षेत्र र हुलाकी सडकको खाता करिडोर क्षेत्रमा वन्यजन्तुमैत्री संरचना बनाउनुपर्ने श्रीराम नगर उपभोक्ता समिति ठाकुरद्वारा बर्दियाका पूर्वअध्यक्ष एवं संरक्षणकर्मी नवराज न्यौपानेले बताए । जंगली हात्तीलगायत वन्यजन्तुबाट हुने जनधनको क्षति रोक्न विकल्पहरू अपनाउने प्रयास भइरहेका बेला पाटे बाघले मान्छे मार्न थालेपछि स्थानीयवासी थप त्रसित भएका छन् ।
दूलर्भ वन्यजन्तु र लोपोन्मुख जनावर भएकाले बाघ संरक्षण राष्ट्रिय र अन्तर्राष्ट्रिय प्राथमिकताको विषय भएको छ । बाघ हेर्नेका लागि वर्षेनि ठूलो संख्यामा स्वदेशी र विदेशी पर्यटकहरू बर्दिया निकुञ्ज क्षेत्रको भ्रमण गर्छन् । तर मान्छेको जीवन जोगाउनुभन्दा वन्यजन्तु संरक्षणको काम ठूलो हुन सक्दैन, त्यसैले मान्छे र वन्यजन्तु दुवै जोगिने खालको दिगो व्यवस्थापन जरूरी भएको संरक्षणकर्मी न्यौपाने बताउँछन् ।बर्दिया निकुञ्जमा पाटे बाघको संख्या बढ्दै गएको छ । सन् २०१८ को बाघगणना अनुसार बर्दिया निकुञ्जमा ८७ वटा वयस्क पाटे बाघ छन् । यस अघि सन २०१३ मा गणना गर्दामा यहाँ यो संख्या ५० थियो । संख्या बढेसँगै पछिल्लो समय बाघ आक्रमणका घटना पनि बढिरहेका छन् । पछिल्ला दिनहरूमा बर्दिया निकुन्जमा चोरी शिकारी धेरै हदसम्म नियन्त्रणमा छ ।
कमेन्ट गर्नुहोस्