लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिटीफ्लावर बेगनाबेलीले रंगीचंगी बनेको तिलोत्तमा

IMG

तिलोत्तमा २०७७ चैत्र १२। हरेक बर्ष पालुवा फेरिने बेला र नया पालुवा लाग्ने बेलाको तिलोत्तमा नगर भित्रका सडक रंगी चंगी देखिन्छ। देशकै नमुना बनेको सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने रूपन्देहीको तिलोत्तमा नगरपालिका सुशासन पारदर्शिता सेवा प्रबाह र बिकाश निर्माणमा मात्रै होइन यस क्षेत्रभित्रका सडक सफा र हरियाली रातिमा सडक बत्तीले झीलिमिली देखिने सडक दिउँसोको समयमा हरियाली बोटबिरूवा र ढकमक्क फुलेका रंगीचंगी फूलहरूले आकर्षक बनेको छ। सडक बीचमा रहेको डिभाइडरमा विद्युतीय पोल, आकर्षक बुद्धमूर्ति र मौसमी फूलहरू संगै सिटी फ्लावर बेगनबेली फुलेर रातै सेतै र पहेलै देखिएको छ।'ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा' नारासहित नगरक्षेत्रलाई सरसफाइसँगै हरियाली बनाउने अभियान सुरू गरेको नगरपालिकाले खाली रहेका सार्वजनिक जग्गा, कुलो, नहर तथा सडकका किनारहरूमा विभिन्न बोटबिरूवा लगाएको छ भने ६ लेन सडक क्षेत्रमा फूल रोपेर आकर्षक बनाएको छ।


भारतको सुनौलीदेखि बेलहिया हुँदै नेपाल प्रवेश गरेपछि नै ग्रिनरीसहितको सर्भिस लेन र मुख्य सडकले कुनै विदेशी भूमिमा यात्रा गरेजस्तै आभास दिलाउने ६ लेन सडकमा फुलिरहेका फूलहरूले सडकको सुन्दरता झनै थपिएको छ। हरियाली प्रबर्धन र सरसफाइका लागि सबै नगर बासि हरुले आफ्नै सम्झेर गर्नुभएको योगदानले सो कुरा सफल भएको नगरपालिकाका हरियाली प्रबर्धन तथा सरसफाई शाखा अधिकृत गोरखनाथ खनालले बताउनुभयो। तिलोत्तमा नगरभित्रको १४ किलोमिटरको सडक क्षेत्रभित्र किनारा बिचको भागमा छुट्टाछुट्टै प्रकारका बोटबिरूवा र फूल रोपिएका छन्। सर्भिस लेनतर्फको ग्रिनरीमा स्टोनिया, निम लगायत बाह्रै महिना हरियै रहने बोटबिरूवाले हरियै देखिँदा मुख्य सडकको डिभाइडरमा भने विभिन्न रङमा फुल्ने बेगनबेली लगाइएको छ। गाउँघरमा बार र रूखमा समेत जेलिएर फुल्ने र बाह्रमासे फूलको पहिचान बनाएको बेगनबेली फूल तिलोत्तमा नगरबासीको लागि सामान्य फूलमात्र हैन। रातो, पहेंलो, सेतो, सुन्तला, गुलाबीमात्र नभई एउटै बोटमा तीनचार रङमा फूल्ने बेगनबेलीलाई तिलोत्तमा नगरपालिकाले सिटी फ्लावरको रूपमा छनोट गरी नगरको पहिचानसँग जोडिदिएको छ।घर, आँगन, बगैंचा होस् या सडकका किनार बाह्रैमास थरिथरि रङमा ढकमक्क फुलेर सिंगो टोललाई नै आकर्षक बनाउने त्यही बेगनबेलीलाई नगर कार्यपालिकाको १९ औं बैठकले ‘सिटी फ्लावर’ को रूपमा छनोट गरेको थियो।अहिले ढकमक्क फुलेको त्यही बेगनबेली फूलले तिलोत्तमा नगरक्षेत्रभित्रको ६ लेन सडक मनमोहक देखिएको छ।




बढ्दो सहरीकरणसँगै हरियाली मासिँदै गए पनि अरू फूलको तुलनामा लामो समय फुलिरहने र गाइवस्तुले समेत नखाने भएकोले बेगनबेलीलाई नगरपालिकाले सिटी फ्लावरको रूपमा छनोट गरेको नगरप्रमुख बासुदेव घिमिरेले बताउनुभयो। सोही अनुरूप नगरपालिकाले हरेक नगरबासीलाई आफ्नो घरमा कम्तिमा एउटा बेगनबेली फूल लगाउन अनिवार्य गरेको छ। घरसँगै सडक, चोक, बगैंचा, पार्क लगायतका सार्वजनिक स्थानमा पनि बेगनबेली प्राथमिकतामा पारिएको नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए। घिमिरेका अनुसार नगरपालिकाले सिटी फूल घोषणा गरेपछि १७ वटै वडा कार्यालय, सामुदायिक विद्यालय, सरकारी कार्यालय, बेलहिया बुटवल ६ लेन सडक डिभाइडरमा यही फूल लगाइएको थियो।


एउटा पुरानो बोटबाट हांगा काटेर सयौं बिरूवा सार्न सकिने भएकोले यो फूल लगाउन आर्थिक भार समेत पर्दैन।तराईको गर्मी, त्यसैमाथि कालोपत्रे सडकको विचमा लगाइएका बोटबिरूवा। तर पनि यहाँका बोटबिरूवा सधैंभरि हरियै देखिन्छन् । नगरपालिकाले सडकमा लगाएका बोटबिरूवाको नियमित रेखदेख र गोडमेलको लागि कामदार समेत खटाउने गरेको छ।नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सडक किनार र डिभाइडरमा लगाइएको बोटबिरूवाको गोडमेल, सिँचाइ तथा नियमित काँटछाँटको लागि कामदार राखेर खटाउने गरेको बताए।विद्युतीय सडक बत्ती, बुद्धमूर्ति र बोटबिरूवाको हरियाली र फुलेका फूलहरूले अरू क्षेत्रको सडकभन्दा तिलोत्तमा क्षेत्रभित्रको सडकको पहिचान फरक देखिने गरेको छ।नगरपालिकाले नगर्बासिका घरमा समेत गमलामै भए पनि सिटी फ्लावर बेगनबेली र एक दुइ वटा फलफूलका बिरूवा लगाउन आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्