
तिलोत्तमा २०७७ चैत्र २। नेकपाका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल सुरु भएको छ ।छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ छन् । अर्का तर्फ नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण बिष्ट र रघुजी पन्त सहभागी छन् ।चार महिनापछि ओली र नेपाल बीच भेटवार्ता भएको हो । गएको २५ कात्तिकपछि संवाद टुटेको थियो । ओली र नेपाल बीचको सम्वाद हीनताकै अवधिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएको थियो ।
ओलीले संसद् भंग गर्ने निर्णय गरेका थिए ।यसपछि एकअर्काविरुद्ध गतिविधि, अभिव्यक्ति र निर्णय गर्दै आएका ओली र नेपाल पक्ष बीचको यो छलफललाई महत्वका साथ हेरिएको छ । २८ फागुनमा ओलीले नेपाल खेमाका नेताहरुलाई भूमिकाविहीन बनाउने निर्णय गरेका थिए । नेपाल खेमाले पनि ४ चैतमा आफ्नो पक्षको राष्ट्रिय कार्यकर्ता भेला राखेको छ ।वरिष्ठ नेता झलनाथ खनाल, नेपालसहित यो खेमाका ११ स्थायी कमिटी सदस्यले हिजोमात्रै ओलीमाथि गम्भीर आरोपसहित संयुक्त वक्तव्य जारी गरेका थिए । तर, ओलीले हिजै नेपाललाई छलफलका लागि आग्रह गरेका थिए ।ओलीले बालुवाटारमा बोलाए पनि नेपाल नमानेपछि धुम्बाराहीमा दुवै खेमाका नेताहरु छलफलमा जुटेका छन् ।
वामदेव समूहले पनि बोलायो बैठक
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि आफ्नो समूहको बैठक बोलाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुको बैठकबाट एमालेका सवै पदाधिकारी खारेज गरेपछि उपाध्यक्ष गौतमले बैठक बोलाएका हुन् ।गौतमले ओलीको कदमप्रति आपत्ति जनाउँदै सच्याउनुपर्ने अडान लिएका छन् । ‘पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे निर्णय लिन बैठक बोलाइएको हो’, गौतम निकट नेता बाबुराम थापाले बताए ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि गौतमले शुरु गरेको राष्ट्रिय एकता अभियानका थापा सचिव हुन् । विभाजित नेकपालाई एक बनाउन गौतमले अभियान चलाइरहेका बेला सर्वोच्च अदालतले भने नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएको छ।
कमेन्ट गर्नुहोस्