लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमाले र माओवादी एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिनू :निर्वाचन आयोग

tillotmacitynews - 2021 Mar 09 03:43 PM
IMG

२५ फागुन, तिलोत्तमा । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ ।मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको हो ।यसअघि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नयाँ पार्टीलाई निर्वाचन आयोगले २०७५ जेठ २३ गते नेपाल कम्युनिस्ट पार्टी (ने क पा) नाममा दर्ता गरेको थियो ।


तर सर्वोच्च अदालतले गत आइतबार ने क पाको नाम निर्वाचन आयोगमा पहिले नै दर्ता भएको पार्टीसँग मिल्दोजुल्दो भएको भन्दै खारेज गरेको थियो ।सर्वोच्चको फैसलाबारे छलफल गर्न बसेको आयोगको बैठकले अब एकीकरण गर्ने भए राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ विपरीत नहुने गरी दुवै दलले आ-आफ्नो केन्द्रीय समितिबाट दल एकीकरण गर्ने निर्णय गरी सो निर्णयसहित नयाँ दलको नाम र चिह्नसमेत प्रस्ताव गरी १५ (पन्ध्र) दिनभित्र आयोगमा निवेदनसहित उपस्थित हुन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको छ ।


आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग दलको रुपमा कायम रहेको सूचना ती दललाई दिने निर्णय गरेको छ ।आयोगको बैठकले नेकपा एमाले र माओवादी केन्द्र कायमै रहेको सूचना संसद सचिवालय र सातवटै प्रदेशसभालाई दिने निर्णय पनि गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।त्यस्तै आयोगले एमाले र माओवादी केन्द्रबीचको एकीकरणपछि खाली भएको ती नाममा दल दर्ता गर्नेहरुलाई पनि नयाँ नाममा १५ दिनभित्र दल दर्ता गर्न आग्रह गरेको छ । आयोगमा सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमाले र गोपाल तिवारी अध्यक्ष रहेको माओवादी केन्द्र दर्ता भएको छ ।

कमेन्ट गर्नुहोस्