लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिनाउ करिडोरको साइड क्लियरेन्समा अघि बढ्यो तिलोत्तमा

IMG

तिलोत्तमा २०७७ फाल्गुन १६। तिनाउ करिडोरको राइट अफ वे (क्षेत्राधिकार) अनुसार तिलोत्तमा नगरपालिकामा पर्ने भू-भागको साइड क्लियरेन्स गराउन नापजाँच तथा रेखाङ्गकन कार्य गरिएको छ । तिलोत्तमा नगरपालिकाले सडक डिभिजन कार्यालयसँगको परामर्शको आधारमा आफ्ना प्राविधिक मार्फत् नापजाँच तथा रेखाङ्गकन गरेको हो ।करिडोर निर्माणको कामलाई छिटो अघि बढाउन सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले साइड क्लियरेन्स गराउन नापजाँच तथा रेखाङ्गकन गरेको नगर प्रमुख बासुदेव घिमिरेले बताए । रेखाङ्गकन कार्यको संयोजन गर्नुभएका कार्यपालिका सदस्य एच.बि. रम्तेलले हालसम्म ७५ प्रतिशत कार्य सकिएको जानकारी दिनुभयो । नदीको वहावलाई आधार मानेर करिडोरको राइट अफ वे निर्धारण गरी पिल्लर गाँडेर रेखाङ्गकन गरिएको उनले बताए । निर्माण कार्य अघि बढाउँदा जग्गा विवाद नआओस् भन्ने उद्देश्यले नगरपालिकाले पहिले नैं साइड क्लियरेन्स गराउन थालेको उनको भनाइ छ । तिनाउ र दानव नदी किनारमा दुई लेनको सडक निर्माण अगाडि बढाइएसँगै तिलोत्तमाले आफ्नो क्षेत्रमा साइड क्लियरेन्स गराउन थालेको हो ।


४ अर्ब १३ करोड लागतको तिनाउ–दानव नदी करिडोरको डिपिआरअनुसार लम्बाइ ५० किलोमिटर रहेको छ । करिडोर निर्माणको गत मंसिर १० गते अर्थमन्त्री विष्णु पौडेलले शिलन्यास गर्नुभएको थियो । रिभर रुटले बुटवललाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी र भारतसम्म जोड्ने छ । संघीय सरकारले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत बनाउन थालेको सडकको दुवै करिडोरमा एकसाथ काम सुरु गर्न चालु आर्थिक वर्षका लागि बजेट विनियोजन समेत भैसकेको छ । दुवै नदीको वारी र पारीपट्टी ७ मिटरका दरले दुई लेन सडक, २ मिटर फुटपाथ, ३ मिटर हरियाली र दुवैतर्फ १.५ मिटरको नाली हुनेछ ।तिनाउतर्फ १५–१५ किलोमिटरका दरले ३० किलोमिटर र दानवतर्फ १०-१० किलोमिटरका दरले २० किलोमिटर सडक बनाउने गरी डीपीआर बनेको जनाइएको छ । डिभिजन सडक कार्यालय बुटवलका अनुसार पहिलो चरणमा तिनाउ नदीको ३५ किलोमिटर र दानव नदीको १५ किमिमा सडक निर्माण गरिनेछ । यसमध्ये तिनाउ नदीको दुवैतर्फ गरी साढे ८ र दानव नदीको साढे ३ किमीका लागि ठेक्का लागेको छ । असोजमा ठेक्का स्वीकृत भएको उक्त काम तिनाउ नदी किनारमा ३६ महिना र दानव नदी किनारमा २७ महिनामा सक्ने सम्झौता छ । रिभर रुट निर्माणका लागि २ वर्षअघि सडक विभागले विस्तृत अध्ययन प्रतिवेदन तयार गरेको थियो ।


जसमा ५० किलोमिटर सडक निर्माणमा ४ अर्ब १३ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । बुटवल र भैरहवामा बढ्दै गएको ट्राफिक जामको दीर्घकालीन समाधान गर्न मात्र नभई यी ‘रिभर रूट’ पर्यटकीय हिसाबले समेत महत्वपूर्ण हुनेछ । यो सडक निर्माणपछि तिनाउ नदी तटीय क्षेत्रको बस्ती सुरक्षित हुनेछन् भने नदीको सौन्दर्यीकरण समेत बढ्नेछ । तिनाउ नदीलाई हिउँदको समयमा जलाशय बनाएर आन्तरिक र वाह्य पर्यटकलाई डुंगा शयर गराउने दीर्घकालीन लक्ष्यसमेत छ । डीपीआरअनुसार तिनाउ नदी व्यवस्थापनका लागि दायाँबायाँ बहाव क्षेत्र निर्धारण गरिनेछ । उक्त क्षेत्र छोडेर नदीको जगदेखि नै पर्खाल लगाइनेछ ।तिनाउ र दानव नदीको दुवैतर्फको किनारमा सडक निर्माणपछि रुपन्देहीको पर्यटन विकासमा समेत टेवा पुग्ने छ । पहिलो चरणमा तिनाउ करिडोरमा ५२ करोड ४६ लाख र दानव करिडोरमा १९ करोड ४२ लाखको ठेक्का सम्झौता भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्