
एजेन्सी – कोरोना भाइरसका कारण आर्थिक संकटबाट गुज्रिएको सिरि ए क्लब युभेन्टसका खेलाडीले चार महिनाको तलब नलिने भएका छन् ।
खेलाडीहरु चार महिनाको तलब नलिन सहमत भएसंगै क्लबलाई समग्रमा ८० मिलियन पाउण्ड राहत मिलेको छ । पछिल्लो सहमतीसंगै क्लबका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले बार्षिक प्याकेज अन्तर्गत प्राप्त गर्ने ९ मिलियन पाउण्ड भन्दा बढी रकम गुमाउनेछन् ।
यस्तै युभेन्ट्सका प्रशिक्षक मौरिजियो सर्रीले समेत तलब कटौती गर्ने क्लबको प्रस्तावमा सहमती जनाएका छन् । खेलाडी समेत तलब कटौतीको प्रस्तावमा सहमत भएका हुन् ।
कोरोनाको महामारीबाट प्रभावित क्लबलाई आर्थिक सहयोग गर्न खेलाडीहरु चार महिनाको तलब छाड्न सहमत भएको युभेन्ट्सले जनाएको छ ।
पोर्चुगलका स्टार रोनाल्डो सहितका सहकर्मी र प्रशिक्षक सर्रीले मार्च, अप्रिल, मे र जुनमा प्राप्त गर्ने मासिक तलब बराबरको रकम छाड्न सहमती जनाएका छन् । ईटालीका सबै खेल गतिविधि कम्तिमा अप्रिल ३ सम्मका लागि स्थगित गरिएका छन् । युभेन्ट्स लिगको शीर्ष स्थानमा छ ।
कोरोनामा विश्वमा सबैभन्दा बढी ईटाली प्रभावित छ । युभेन्ट्सले सबैको हितका लागि यस्तो निर्णय लिएको जनाएको छ ।
युरोपका मुख्य क्लबहरुले खेलाडीको तलबमा कटौती गरेका छन् । जर्मन क्लब बार्यन म्युनिख र बोरुसिया डर्टमण्डका खेलाडीले समेत तलब कटौतीको प्रस्तावमा सहमती जनाएका छन् ।
स्पेनिस महारथी क्लब बार्सिलोना र एट्लेटिको मड्रिडले यसअघिनै खेलाडीको तलब कटौती गर्ने घोषणा गरिसकेका छन् ।
कमेन्ट गर्नुहोस्