
शारदा शाही, बुटवल । अपाङ्गता भएका महिलाहरूको जलवायु परिवर्तन तथा विपद्जन्य जोखिम न्यूनीकरण, क्षमता अभिवृद्धि र नीतिगत पैरवीमा सहभागिता बढाउने उद्देश्यले रुपन्देहीमा सञ्चालन हुन लागेको ‘समावेशी जलवायु उत्थानशीलता तथा अपाङ्गता भएका महिलाहरूको पैरवी परियोजना’ (आईसीआरए) को शुभारम्भ गरिएको छ।
बुटवलस्थित होटल न्यू एरामा आयोजित एक कार्यक्रमबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खिलराज पाण्डेयले परियोजनाको शुभारम्भ गर्नुभएको हो। कार्यक्रममा नगर उपप्रमुख सावित्रा अर्याल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा उपमहानगरपालिकाका विभिन्न विषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।कार्यक्रममा परियोजना कार्यान्वयन गर्ने संस्था अपाङ्गता महिला समाज (डीब्ल्यूएस), रुपन्देहीकी अध्यक्ष कल्पना ढकालले संस्थाको परिचय प्रस्तुत गर्दै संस्थाको उद्देश्य, कार्यक्षेत्र, अनुभव तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, समावेशीकरण र सशक्तीकरणका क्षेत्रमा भइरहेका गतिविधिबारे जानकारी गराउनुभयो।
संस्थाकी सल्लाहकार बबिता आचार्यले स्वागत मन्तव्यमार्फत अतिथि तथा सहभागीहरूलाई स्वागत गर्नुभएको थियो। परियोजना संयोजक बसन्त भट्टले परियोजनाको उद्देश्य, लक्षित समूह, प्रमुख गतिविधि, कार्यान्वयन प्रक्रिया र अपेक्षित उपलब्धिबारे प्रस्तुतीकरण गर्नुभयो।परियोजनाले विशेषगरी अपाङ्गता भएका महिलाहरूको जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणसम्बन्धी ज्ञान, सीप तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ। साथै स्थानीय तहको योजना निर्माण, निर्णय प्रक्रिया र नीतिगत पैरवीमा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखेको छ।
कार्यक्रममा जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणाली, अपाङ्गतामैत्री विपद् व्यवस्थापन तथा स्थानीय सरकार र नागरिक समाजबीचको समन्वय र सहकार्यका विषयमा छलफल गरिएको थियो परियोजनालाई प्रभावकारी बनाउन स्थानीय सरकार, सरोकारवाला निकाय र समुदायबीच सहकार्य आवश्यक रहेको सहभागीहरूले जोड दिएका थिए।सञ्चारकर्मी शारदा शाहीले सञ्चालन गर्नुभएको कार्यक्रममा परियोजनाले रुपन्देहीका अपाङ्गता भएका महिलाहरूको जलवायु न्याय, विपद् उत्थानशीलता, नेतृत्व विकास तथा नीतिगत पैरवीमा पहुँच बढाउँदै समावेशी र सुरक्षित समुदाय निर्माणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कमेन्ट गर्नुहोस्