
तिलोत्तमा। मृगौला रोगबाट पीडित महादीप थापा (दीपक)को उपचार तथा मृगौला प्रत्यारोपणका लागि सहयोग जुटाउने उद्देश्यले तिलोत्तमा नगरपालिका–१६ मा बृहत् सहयोग अभियान सुरु गरिएको छ।
शनिबार तिलोत्तमा–१६ का जनप्रतिनिधि, उद्योगपति, टोल विकास संस्था, आमा समूह, क्लबका प्रतिनिधि, व्यवसायी, शुभेच्छुक तथा स्थानीय समाजसेवीहरूको बृहत् उपस्थितिमा आयोजित छलफलले दीपकको उपचारका लागि महाअभियान सञ्चालन गर्ने निर्णय गरेको हो।छलफलपछि माउन्ट एभरेष्ट कत्था मिल्स प्रालिका प्रबन्ध निर्देशक बसन्त रोक्का क्षेत्रीको संयोजकत्वमा अभियान सञ्चालन समिति गठन गरिएको छ। समितिले आगामी दिनमा आम जनसमुदायसम्म पुगेर महादीप थापा (दीपक)को मृगौला प्रत्यारोपणका लागि आवश्यक सहयोग रकम संकलन गर्ने निर्णय गरेको जनाएको छ।
अभियानका संयोजक रोक्का तथा उपस्थित सरोकारवालाहरूले गम्भीर स्वास्थ्य समस्याबाट गुज्रिरहेका दीपकको उपचारमा समाजका सबै क्षेत्र एकजुट हुनुपर्नेमा जोड दिएका छन्। आर्थिक अभावका कारण उपचारमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले स्थानीय समुदाय, संघसंस्था, व्यवसायी तथा शुभेच्छुकहरूलाई अभियानमा जोडिन आह्वान गरिएको स्थानिय युवा पुरुशोत्तम सुबेदीले बताउनुभएको छ।
अभियानले सबै नागरिकलाई आफ्नो क्षमता र इच्छाअनुसार सहयोग गरी महादीप थापा (दीपक)को जीवनरक्षाका लागि सञ्चालन गरिएको महाअभियान सफल बनाउन आग्रह गरेको छ।“मानवीय सेवामा सबैको साथ, दीपकको उपचारका लागि एकजुट हात” भन्ने भावनासहित अभियानमा यथासक्दो आर्थिक तथा नैतिक सहयोग गर्न सम्पूर्ण जनसमुदायमा हार्दिक अनुरोध गरिएको छ।
कमेन्ट गर्नुहोस्