
परासी, असार १४ गते । एसियाली राजमार्गको मापदण्ड अनुसार निर्माण भइरहेको बुटवल–नारायणगढ सडक आयोजनाको दाउन्नेपश्चिमदेखि बुटवलसम्मको खण्डमा देखिएका गुणस्तरीय समस्याप्रति जनस्तरबाट गुनासो बढेपछि सरोकारवाला निकायको संयुक्त टोलीले शनिबार स्थलगत अनुगमन गरेको छ ।
अनुगमन टोलीले पश्चिम नवलपरासीको दाउन्नेपश्चिमदेखि बुटवलसम्मको सडकखण्डको प्राविधिक अवस्था, निर्माणको गुणस्तर, बजारक्षेत्रमा देखिएका समस्या तथा सडक सुरक्षाका विषयमा निरीक्षण गर्नुका साथै स्थानीय जनप्रतिनिधि, आयोजना पक्ष, प्राविधिक र सुरक्षा निकायसँग छलफल गरेको छ । अनुगमनपछि नवलपरासी (बर्दघाट सुस्तापश्चिम) निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य विक्रम खनालले अनुगमनका क्रममा विभिन्न स्थानमा सुधार गर्नुपर्ने पक्ष देखिएकाले सम्बन्धित निकायलाई तत्काल आवश्यक सुधार गरी मापदण्ड अनुसार निर्माण कार्य अघि बढाउन आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।
बुटवल–नारायणगढ सडक आयोजना (पश्चिम खण्ड) कार्यालयका इन्जिनियर विकास खनालले अनुगमनका क्रममा केही प्राविधिक कमजोरी देखिएको स्वीकार गर्दै निर्माण कम्पनीलाई तत्काल सुधारका लागि औपचारिक पत्राचार गरिने र कमजोरी सच्याएर निर्माण कार्यलाई गुणस्तरीय बनाइने बताउनुभयो ।
त्यसै गरी निर्माण कार्यको सुपरीवेक्षण गरिरहेको परामर्शदाता कम्पनीका इन्जिनियर शशी श्रेष्ठले अनुगमन टोलीबाट औँल्याइएका सुझावलाई कार्यान्वयन गर्दै निर्माणको गुणस्तरमा तत्काल सुधार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अनुगमनका क्रममा सडक चाँडै भासिने र बिग्रिने अर्को महत्वपूर्ण कारण पनि औँल्याइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीका अनुसार उक्त सडकखण्डको भारवहन क्षमता करिब १० टनसम्म भए पनि हाल ९० टनसम्मका मालवाहक सवारीसाधन निर्बाध रूपमा सञ्चालन भइरहेका छन् । क्षमताभन्दा अत्यधिक भारका कारण नयाँ निर्माण भएका तथा मर्मत गरिएका सडकसमेत छोटो समयमै उप्किने, भासिने र क्षतिग्रस्त हुने गरेको प्राविधिकको निष्कर्ष छ ।
अनुगमन टोलीले बढी भार बोकेका सवारीसाधन नियन्त्रण गर्न ट्राफिक प्रहरी र स्थानीय प्रशासनले प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याउँदै ठेकेदार कम्पनीले तोकिएको मापदण्ड अनुसार गुणस्तरीय रूपमा सडक निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ । दाउन्नेपश्चिमदेखि बुटवलसम्म करिब ४८ किलोमिटर सडक निर्माणका लागि करिब आठ अर्ब रुपियाँ बजेट विनियोजन गरिएको छ ।
कमेन्ट गर्नुहोस्