
क्यानाडा सरकारले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने डिजिटल सुरक्षा विधेयक पेश गरेको छ । यद्दपि निश्चित सुरक्षा मापदण्ड पूरा गर्ने सामाजिक सञ्जाल प्लेटफर्महरूलाई भने छुट दिइने समाचार संस्था रोयटर्सले जनाएको छ ।
विधेयकले सुरक्षा मापदण्डहरू स्थापित गर्न डिजिटल नियामक स्थापना गरेर कृत्रिम बुद्धिमत्ता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) च्याटबटहरूलाई पनि सुरक्षित बनाउने लक्ष्य राखेको एक सरकारी अधिकारीलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।कानूनको पालना नगर्ने सामाजिक सञ्जाल कम्पनीहरूलाई विश्वव्यापी आम्दानीको ३ प्रतिशत वा अधिकतम झन्डै ७२ लाख अमेरिकी डलरमध्ये जुन धेरै हुन्छ त्यति जरिवाना हुने विधेयकमा प्रस्ताव गरिएको छ । प्रस्तावित कानूनले युवाहरूका लागि अझ सुरक्षित डिजिटल वातावरण सुनिश्चित गर्ने लक्ष्य राखेको छ । यो विधेयक पारित हुन झन्डै १ वर्ष लाग्न सक्ने र डिजिटल नियामक निकाय स्थापना गर्न अर्काे १८ महिना लाग्न सक्ने खबरमा उल्लेख छ ।
यसअघि गएको डिसेम्बरमा अस्ट्रेलिया १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो देश बनेको थियो । यस्तै मलेशियाले यही जुन १ देखि बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाएको छ । विश्वका अन्य देशहरूले पनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनेबारे छलफल गरिरहेका छन् ।
कमेन्ट गर्नुहोस्