
कान्छीबजार। रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजार क्षेत्रमा यतिबेला हरियालीले ढाकिएको मकैबारीले किसानमा नयाँ उत्साह थपेको छ। स्थानीय किसानहरू यस वर्ष मकै उत्पादन राम्रो भएको बताउँदै आगामी दिनमा अझै उत्पादन बढ्ने विश्वास व्यक्त गरिरहेका छन्।
करिब १५ बिगाह क्षेत्रफलमा स्थानीय तथा हाइब्रिड जातका मकै खेती गरिएको छ। हराभरा मकैबारीले कान्छीबजार क्षेत्रलाई आकर्षक बनाएको मात्रै छैन, किसानको आम्दानी बढाउने आशा समेत जगाएको छ।वडा स्तरीय कृषि सञ्जालका अध्यक्ष बिक्रम केसीले स्थानीय तह तिलोत्तमा नगरपालिकाले कृषिका लागि प्रभावकारी सहयोग गर्दै आएको बताए। नगरपालिकाले ५० प्रतिशत अनुदानमा बिऊबिजन उपलब्ध गराएको, मल, तालिम, प्राविधिक सल्लाह तथा कृषि औजार सहयोग गरेपछि किसानलाई खेती गर्न सहज भएको उनको भनाइ छ।
कृषि सञ्जालकी उपाध्यक्ष मिना श्रेष्ठ र सचिव मणिरत्न जैसीले किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न समन्वयात्मक रूपमा काम भइरहेको बताए।किसान गीता श्रेष्ठले यस वर्ष मकै खेती निकै राम्रो भएको भन्दै उत्पादन बढ्नेमा आफूहरू ढुक्क रहेको बताइन्। किसान सरिता थापा, डिलकुमारी श्रेष्ठ, कबिता घिमिरे, लिलादेवी घिमिरे तथा टोल विकास संस्थाकी कोषाध्यक्ष जमुना पनेरुले पनि नगरपालिकाको गरेको बिऊ, मल, परामर्श, कृषि औजार तथा सिंचाईका लागि पाएको सहयोगले खेतीप्रति उत्साह बढेको प्रतिक्रिया दिएका छन्।
उनीहरूका अनुसार उत्पादनसँगै बजार व्यवस्थापन पनि सहज बनेको छ। मकै खेतबाटै बिक्री हुने गरेको र ठूलो परिमाणमा समेत बिक्री भइरहेकाले किसानलाई उत्पादन बिक्रीको चिन्ता कम भएको छ।तिलोत्तमा–१० को कान्छीबजार क्षेत्रमा फैलिएको मकै खेतीले कृषिमा सम्भावना अझै व्यापक रहेको संकेत गरेको स्थानीयको भनाइ छ।यसैबीच, वडा स्तरीय कृषि सञ्जालले आगामी जेठ ७ गते “मकै दिवस” मनाउने तयारी गरेको छ। दिवसका अवसरमा मकैबाट बन्ने विभिन्न परिकारहरूको प्रदर्शनी समेत गरिने आयोजकले जनाएको छ।
नगरपालिकाका कृषि शाखा प्रमुख दोमलाल भुसालले तिलोत्तमा–१० क्षेत्रमा किसानहरू व्यावसायिक रूपमा मकै खेतीतर्फ आकर्षित हुनु सकारात्मक संकेत भएको बताएका छन्।उनले नगरपालिकाले कृषि उत्पादन वृद्धि र किसानको आम्दानी बढाउने उद्देश्यले अनुदानमा बिऊबिजन, मल, कृषि औजार, तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गरे। किसानहरूले आधुनिक तथा उन्नत प्रविधिसहित खेती गर्न थालेपछि उत्पादनमा उल्लेखनीय सुधार देखिएको उनको भनाइ छ।
प्रमुख भुसालले तिलोत्तमाको माटो र वातावरण मकै खेतीका लागि उपयुक्त रहेको भन्दै आगामी वर्षहरूमा अझ बढी क्षेत्रफलमा खेती विस्तार हुने अपेक्षा व्यक्त गरे। उनले उत्पादनसँगै बजारीकरण पनि सहज बन्दै गएकोले किसानहरू थप उत्साहित भएको बताए।कृषिलाई व्यवसायिक र आत्मनिर्भर बनाउने नगरपालिकाको लक्ष्य अनुसार किसानसँग सहकार्य गर्दै विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ।
कमेन्ट गर्नुहोस्