
तिलोत्तमा। भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल ले वास्तविक सुकुम्बासीले आगामी दशैँअघि नै लालपुर्जा पाउने बताएका छन्। सुकुम्बासीको नाममा राजनीति गर्दै आन्दोलनमा उक्साउने काम भइरहेको भन्दै उनले सरकार काम गरेर देखाउन आएको दाबी गरे।
मन्त्री लम्सालले काठमाडौंका सुकुम्बासीका लागि विशेष व्यवस्था गरिएको उल्लेख गर्दै होल्डिङ सेन्टरबाट व्यवस्थापन गरिने र त्यहाँबाट जाँदा लालपुर्जा हातमै लिएर जाने अवस्था सिर्जना गरिने बताए।उनले काठमाडौं बाहिरका जिल्लामा पनि छानबिनपछि वास्तविक सुकुम्बासीलाई दशैँभित्रै जग्गा उपलब्ध गराइने स्पष्ट पारे। “सच्चा सुकुम्बासी आन्दोलनमा जानुपर्ने अवस्था छैन, तपाईँहरूको घरमै लालपुर्जा पुग्छ,” उनले भने।
उनका अनुसार सुकुम्बासीको नाममा विगत ३५ वर्षदेखि राजनीति गर्दै आएका केही समूहले अहिले पनि आन्दोलनका नाममा वास्तविक सुकुम्बासीलाई उक्साइरहेका छन्। प्रधानमन्त्रीबारे अफवाह फैलाउने र राजनीतिक लाभ लिन खोज्ने गतिविधि भइरहेको आरोप पनि उनले लगाए।मन्त्री लम्सालले सुकुम्बासीलाई डराउन आवश्यक नरहेको उल्लेख गर्दै आफू सम्बन्धित समितिको अध्यक्षसमेत भएकाले वास्तविक सुकुम्बासीले न्याय पाउने प्रतिबद्धता व्यक्त गरे।
“जसले सुकुम्बासीलाई प्रयोग गरेर राजनीति गर्न आन्दोलनमा उक्साएका छन्, त्यस्ताको लालपुर्जा रोक्छु,” उनले चेतावनी दिए। साथै, “रियल सुकुम्बासीहरूले दशैँअघि नै जग्गा र लालपुर्जा पाउँछन्, यो मेरो वाचा हो,” उनले बताए।रुपन्देहीको बिकास निर्माणहरुको अनुगमन तथा अबलोकन गर्दै सुकुम्बासीहरुको समेत कुरा सुन्न रुपन्देही आएका लम्सालले आफ्नो धारणा राख्दै यस्तो कुरा बताएका छन्। सो कुरा ब्यक्त गरेपछि अहिले सुकुम्बासीहरूमा आशा पलाएको छ।उनले नारायण गढ सडक खण्ड, मुग्लिन सडक , सिद्धबाबा सुरुङ्ग मार्ग, बुटवल गोरुसिंगे मार्ग, भैरहवा, देवदह, सैनामैना, तिलोत्तमका ठुला योजनाहरुको अनुगमन गरेका छन्।
कमेन्ट गर्नुहोस्