लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अनिवार्य भन्सार व्यवस्थाले भैरहवाका व्यवसायी उत्साही

IMG

भैरहवा, वैशाख १७ गते । सरकारले १०० रुपियाँभन्दा माथिको सामानमा अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था लागू गरेसँगै रूपन्देहीको सुनौली नाकामा दैनिक आवागमन र किनमेलमा उल्लेखनीय कमी आएको छ । सीमापारि भारतीय बजार सुनसान बन्दै गएका छन् भने नेपालतर्फका व्यवसायीमा उत्साह थपिएको छ ।


यो व्यवस्थापछि सीमापारि सस्तो किनमेल गर्न जाने नेपाली उपभोक्ताको सङ्ख्या घटेपछि स्थानीय बजारमा ग्राहकको चाप बढ्न थालेको व्यवसायीहरू बताउँछन् । भैरहवा गल्लामन्डीका व्यापारी राजु अग्रवालका अनुसार पहिले सानो–सानो किनमेलका लागि पनि मानिसहरू पारि जान्थे, अहिले त्यो प्रवृत्ति घटेको छ । उहाँले भन्नुभयो, “यसले हाम्रो व्यापारमा सकारात्मक असर पारेको छ ।”


त्यस्तै, कपडा व्यवसायी सन्तोष श्रेष्ठले पनि अनिवार्य भन्सार नीतिले स्वदेशी बजारलाई संरक्षण गरेको धारणा व्यक्त गर्नुभयो । ग्राहक अहिले यतै किनमेल गर्न आकर्षित भएकाले बिक्री बढेको उहाँको भनाइ छ ।


उद्योगी–व्यवसायीका संस्थाले पनि सरकारको निर्णयलाई स्वागत गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले सीमा नाकामा गरिएको कडाइले स्वदेशी व्यवसायमा सकारात्मक प्रभाव पार्न थालेको बताउनुभयो ।


उहाँले भन्नुभयो, “यदि कुनै व्यवसायीले बिनाकारण मूल्य बढाउँछ भने बजारको नियमित अनुगमन गरी कारबाही हुनुपर्छ । हामी सरकारलाई सहयोग गर्न तयार छौँ ।” उहाँले व्यावसायिक कारोबार बिनाभन्सार गर्न नपाइने तर सर्वसाधारणलाई समस्या पर्न नहुनेमा जोड दिनुभयो ।नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष कृष्णप्रसाद शर्माका अनुसार सीमावर्ती क्षेत्रमा देखिने ‘क्रस–बोर्डर सपिङ’ घट्नु नेपाली व्यवसायका लागि सकारात्मक सङ्केत हो । स्थानीय उद्योग र व्यवसायलाई संरक्षण गर्न यस्ता नीति आवश्यक रहेको उहाँले बताउनुभयो ।


भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले घरायसी प्रयोजनका नाममा धेरै परिमाणमा सामान किनेर बिनाभन्सार ल्याउने क्रमलाई निरुत्साहित गर्न नाकामा कडाइ गरिएको जानकारी दिनुभयो । यसबाट तस्करीसमेत घटेको उहाँको दाबी छ ।


सशस्त्र प्रहरी बल २७ नम्बर गुल्म रूपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नवराज बोहराले सीमामा गरिएको जाँचलाई निरन्तरता दिइएको र यसमा कुनै अवरोध वा विवाद नभएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्