लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

खेलकुद प्रवर्धनमा तिलोत्तमाको पहल

IMG

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिका पछिल्लो समय खेलकुद प्रवर्धनको एउटा सशक्त नमुना स्थल बन्दै गएको छ। शिक्षा, स्वास्थ्य र पूर्वाधारसँगै खेलकुदलाई विकासको मुख्य आधारका रूपमा लिँदै नगरले दीर्घकालीन योजना, लगानी र समन्वयमार्फत ग्रासरुट तहदेखि राष्ट्रिय स्तरसम्म खेलाडी उत्पादन गर्ने लक्ष्य र पहल अघि सारेको छ । 


खेलकुद केवल प्रतिस्पर्धा होइन, अनुशासन, नेतृत्व, आत्मविश्वास र सामाजिक एकताको माध्यम पनि हो भन्ने सोचलाई आत्मसात गर्दै तिलोत्तमा अहिले खेलमैत्री नगरको रूपमा पहिचान बनाउन समेत जुटेको छ । तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणका अनुसार खेलकुदलाई प्राथमिकतामा राख्नुको मुख्य कारण युवा पुस्तालाई सही दिशा दिनु हो । “हामीले खेलकुदलाई केवल मनोरञ्जनको विषयका रूपमा हेरेका छैनौं,” उनी भन्छन्, “यो त युवालाई अनुशासित बनाउने, दुव्र्यसनबाट टाढा राख्ने र राष्ट्रका लागि योगदान दिन प्रेरित गर्ने माध्यम हो ।” उनका अनुसार नगरले खेल मैदान निर्माण, स्तरोन्नती, नियमित प्रतियोगिता र प्रशिक्षक व्यवस्थापनमा निरन्तर लगानी बढाइरहेको छ । उनी थप्छन्, “ग्रासरुट तहबाटै प्रतिभा पहिचान गर्न सके मात्र हामीले राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सक्छौं ।”नगरप्रमुख खाणले खेलकुद खेलाडीहरुका लागि नाम र दाम समेत कमाउने मुख्य आधार बनेको बताउँछन् ।  


नगर उपप्रमुख जगेश्वरदेवी चौधरी खेलकुदमा समावेशिताको विषयलाई विशेष जोड दिन्छिन् । विगतमा महिला सहभागिता सीमित रहेको स्वीकार्दै उनी अहिले अवस्था परिवर्तन हुँदै गएको बताउँछिन् । “हामीले विद्यालय तहदेखि नै छात्राहरूलाई खेलकुदमा सक्रिय बनाउन कार्यक्रम ल्याएका छौं,” उनी भन्छिन्, “महिलाहरूको सहभागिताबिना खेलकुदको समग्र विकास सम्भव छैन ।” उनको भनाइमा तिलोत्तमाले महिलामैत्री खेलकुद वातावरण निर्माणमा पनि ध्यान दिएको छ । अहिले भलिबल, कबड्डी, महिला फुटबल, कराँते, तेक्वान्दोसँग छोटो दुरीको म्याराथुनमा समेत तिलोत्तमाका महिला खेलाडीले देश बिदेशमा पहिचान बनाएको उहाँको भनाइ छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल खेलकुद विकासलाई व्यवस्थित ढंगले अघि बढाउन नीतिगत र प्रशासनिक पक्ष मजबुत बनाइएको बताउँछन् । “हामीले योजनाबद्ध बजेट विनियोजन गरेका छौं,” उनी स्पष्ट पार्छन्, “खेल मैदानको व्यवस्थापनदेखि प्रशिक्षक परिचालनसम्म सबै कामलाई प्रणालीमा बाँधिएको छ ।” उनका अनुसार नगरले स्थानीय क्लब, संघसंस्था र निजी क्षेत्रसँग सहकार्य गर्दै खेलकुद गतिविधिलाई अझ प्रभावकारी बनाउने प्रयास गरिरहेको छ । साथै उनका अनुसार खेलाडीको सम्मानमा नगरपालिकाले धेरै सह्रानीय काम गर्दै आएको छ ।


नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख गंगाराम आचार्यका अनुसार खेलकुद विकासको आधार विद्यालय नै हो । “हामीले विद्यालयस्तरबाटै प्रतिभा पहिचान गर्ने र तिनलाई प्रशिक्षण दिने कार्यक्रम सञ्चालन गरिरहेका छौं,” उनी भन्छन् । राष्ट्रपति रनिङ्ग शिल्ड, नियमित अन्तरविद्यालय प्रतियोगिता, प्रशिक्षण शिविर र खेल सामग्री वितरणले विद्यार्थीहरूमा खेलप्रतिको आकर्षण बढाएको उनको अनुभव छ । “पहिले खेलकुदलाई अतिरिक्त क्रियाकलापका रूपमा हेरिन्थ्यो, अहिले यो मुख्य प्राथमिकतामा परेको छ,” उनी थप्छन् ।नगर खेलकुद विकास समितिका संयोजक लोक बहादुर पुन स्थानीय तहमा खेलकुद विस्तार गर्न क्लब र एकेडेमीहरूसँगको सहकार्यलाई महत्वपूर्ण मान्छन् । “हामीले सबैलाई समेटेर अघि बढ्ने नीति लिएका छौं,” उनी भन्छन्, “यसले खेलाडी उत्पादनमा सकारात्मक प्रभाव पारेको छ ।” उनका अनुसार नगरमा फुटबल, क्रिकेट, कराँते, भलिबल लगायत विभिन्न खेलका प्रशिक्षण कार्यक्रम नियमित रूपमा सञ्चालन भइरहेका छन् । निजी स्तरबाट समेत खेल प्रशिक्षणमा निकै ठुलो योगदान रहेको संयोजक पुन बताउछन् ।


स्थानीय पहलप्रति राष्ट्रिय स्तरका खेलाडीहरू पनि आशावादी देखिन्छन्। राष्ट्रिय क्रिकेट खेलाडी कुशल भुर्तेल भन्छन्, “यदि स्थानीय तहले यस्तै रूपमा लगानी र व्यवस्थापन गरिरह्यो भने तिलोत्तमाबाट राष्ट्रिय टोलीमा धेरै खेलाडी आउनेछन् ।” उनले प्रशिक्षण, अवसर र प्रतिस्पर्धा नै सफल खेलाडी उत्पादनका मुख्य आधार भएको उल्लेख गर्छन् । भुर्तेलले तिलोत्तमाले आफु लगायत क्रिकेटका खेलाडीलाई सम्मान गरेको र खेल अवलोकन गर्ने स्थानमा समेत सम्मानका लागि पार्क बनाइएकोप्रति खुशी लागेको बताएका छन् ।


पूर्व क्रिकेट राष्ट्रिय खेलाडी शक्ति गौचन पनि तिलोत्तमाको प्रयासलाई सकारात्मक रूपमा लिन्छन् । “खेलाडी बन्नका लागि वातावरण सबैभन्दा महत्वपूर्ण हुन्छ,” उनी भन्छन्, “तिलोत्तमाले त्यो वातावरण बनाउन थालेको छ, जुन निकै राम्रो संकेत हो।” उनका अनुसार आधारभूत संरचना र योग्य प्रशिक्षकको उपलब्धताले खेलाडीको स्तर उकास्न ठूलो भूमिका खेल्छ । निजी स्तरबाट निर्माण भएको एक्स्ट्राटेक ओभल क्रिकेट खेलमैदानमा समेत तिलोत्तमाले देखाएको सहयोग र समन्वयको पाटो निकै उदाहरणिय भएको उनको भनाइ छ। त्यस्तै राष्ट्रिय स्तरको महिला फुटबल टोलीका क्याप्टेन इन्दु बर्माले तिलोत्तमाले बिद्यालय तहदेखि नै खेलकुदलाई एउटा प्राथमिकताका आधारमा राखेर प्रतियोगिता बनाएकोले भविष्यमा खेलाडी उत्पादनमा सहयोग पुग्ने भन्दै खुसी व्यक्त गरिन् । स्थानीय एकेडेमीहरू पनि नगरको पहलबाट उत्साहित छन्। तिलोत्तमा फुटबल एकेडेमीका अध्यक्ष तिलक नेपालीका अनुसार नगरको सहयोगले प्रशिक्षण कार्यक्रम व्यवस्थित बनेको छ भने नगरको पहल र प्रदेश तथा संघीय बजेटबाट एकेडेमी निर्माणले निरन्तरता पाएको छ । “पहिले हामीले सीमित स्रोतसाधनमा काम गर्नुपथ्र्यो,” उनी सम्झन्छन्, “अहिले नगरको सहयोगले खेलाडीलाई राम्रो सुविधा दिन सकिरहेका छौं।” उनी फुटबलप्रति युवाहरूको आकर्षण बढ्दो रहेको र त्यसलाई सही दिशामा लैजान आवश्यक रहेको बताउँछन् । निजी स्तरबाट सञ्चालित तिलोत्तमा क्रिकेट एकेडेमीका कृष्ण भुसाल पनि क्रिकेटप्रतिको बढ्दो मोहलाई अवसरका रूपमा लिनुपर्ने बताउँछन्। “क्रिकेट अहिले युवाहरूको रोजाइमा परेको खेल हो ।” उनी भन्छन्, “यसलाई व्यवस्थित प्रशिक्षण र प्रतियोगितासँग जोड्न सके हामी उत्कृष्ट खेलाडी उत्पादन गर्न सक्छौं ।” उनका अनुसार दीर्घकालीन योजनाविना खेलकुद विकास सम्भव हुँदैन।


त्यस्तै कराँते प्रशिक्षक काजी राना मार्सल आट्र्समा पनि उत्तिकै सम्भावना रहेको बताउँछन् । “कराँतेले अनुशासन, आत्मरक्षा र आत्मविश्वास सिकाउँछ ।” उनी भन्छन्, “यदि नियमित अभ्यास र सही मार्गदर्शन मिल्यो भने खेलाडी अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सक्छन्। हामीले त्यस्ता प्रतियोगितामा समावेश गरेर ठुलो सफलता समेत हासिल गरेको उदाहरणछ छ ।” उनले नगरले सबै खेललाई समान रूपमा प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए।


तिलोत्तमाको यो प्रयास केवल संरचना निर्माण वा प्रतियोगिता आयोजना मात्र होइन, एउटा समग्र सोचको परिणाम हो। यहाँ खेलकुदलाई जीवनशैलीसँग जोड्ने, युवालाई सकारात्मक दिशामा उन्मुख गराउने र राष्ट्रिय गौरवमा योगदान पुर्याडउने माध्यमका रूपमा विकास गरिँदैछ। चुनौतीहरू अझै छन् । स्रोतसाधनको अभाव, दक्ष प्रशिक्षकको कमी र दीर्घकालीन निरन्तरताको आवश्यकता, खेलमैदानको अपूर्णता तर ग्रासरुट देखि अन्तर्राष्ट्रिय स्तरसम्मको  सुरुवात आशाजनक छ।समग्रमा, तिलोत्तमा नगरपालिका खेलकुद प्रवद्र्धनको यात्रामा दृढतापूर्वक अघि बढिरहेको छ । ग्रासरुटदेखि राष्ट्रिय स्तरसम्म खेलाडी उत्पादन गर्ने लक्ष्य केवल नारामा सीमित छैन, व्यवहारमा उतार्ने प्रयास भइरहेको छ। यदि यही गति र प्रतिबद्धता कायम रह्यो भने तिलोत्तमा निकट भविष्यमा खेलकुदको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुने सम्भावना प्रबल देखिन्छ।

कमेन्ट गर्नुहोस्