
बुटवल। फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको लागि रुपन्देही क्षेत्र नं. २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट उम्मेद्वार विश्वदीप पाण्डे (सुवास) ले आफू अहिलेसम्म कुनै भ्रष्टाचार र अनियमिततामा नजोडिएको उम्मेदवार भएकाले आम मतदाताले आफूलाई मत दिएर जिताउने विश्वास ब्यक्त गर्नुभएको छ ।
पार्टीले स्थापना गरेको तिलोत्तमा नगरपालिका वडा नं. १ र २ को संयुक्त प्रचार–प्रसार कार्यालयको बुधबार उद्घाटन गर्दै युवा नेता पाण्डेले भन्नुभयो, ‘म अहिलेसम्म कुनै भ्रष्टाचार काण्डमा जोडिएको मान्छे होइन । न ललिता निवास, न सुपारी तस्करी, न सुन तस्करी, न जलहरी, न कुनै अन्य अनियमितामा । म सिंहदरवार र अदालत जलाउँदा खुसी हुँने मान्छे पनि होइन ।’ जेन्जी आन्दोलनले उठाएका मुद्दाहरु भने जायज भएको उहाँको भनाई थियो । जेन्जी बिह्रोहका मुद्दा नेकपाले पनि संसदमा उठाउँदै आएको तर त्यसलाई तत्कालिन सरकारले वेवास्ता गर्दा स्थिति भयावह भएको पाण्डेको तर्क थियो । भ्रष्टाचार र कुशासनकोबिरुद्धमा भएको जेन्जी आन्दोलनका जायज एजेण्डाहरुलाई नेकपाले आत्मसाथ गरेर निर्वाचनमा होमिएकाले नेकपालाई यसपटक जनताले तारा चुनाव चिन्हमा बहुमत दिएर जिताउने उहाँले विश्वास ब्यक्त गर्नुभयो।
कार्यक्रममा नेकपा नेता राम परियारले अन्य दलका कैयौं पुराना र अनियमितताको दाग लागेका उम्मेदवारका तुलनामा नेकपाका उम्मेदवारहरु निश्कलंक र युवा बौद्धिक उम्मेदवार भएकाले यसपटक नेकपालाई जिताउन सबैमा अपिल गर्नुभयो । जेन्जी आन्दोलनको बेला नेकपाले मुख्य पहलकदमी लिएर यो ब्यवस्था जोगाएको भन्दै जनताले चुनावमा यसको समीक्षा गर्ने उहाँको भनाई थियो । कार्यक्रममा नेताहरु निर्मल जीसी, कमल भण्डारी, प्रेम खनाल, खुश्बु भण्डारी, सुदीप न्यौपाने, बेलप्रसाद शर्मा लगायतको सहभागिता थियो ।बुधबारै तिलोत्तमाको वडा नं. ३ र ४ का पनि चुनाव प्रचार कार्यालय उद्घाटन गरिएको चुनाव परिचालन समिति वडा नं. ४ का संयोजक नेत्र रुचालले जानकारी दिनुभयो ।यसैबीच उम्मेदवार पाण्डेले बुधबार बुुटवलको वडा नं.३ र ४ को पनि प्रचार कार्यालय उद्घाटन गरेर वडा नं. २ मा घरदैलो गर्नुभएको छ । बुटवलकी ९३ बर्षिया वृद्धा निमा भूसालको हातबाट टिका आर्शिबाद लिएर उहाँले घरदैलो अभियान शुरु गर्नुभएको हो ।
कमेन्ट गर्नुहोस्