
काठमाडौँ । विश्वका ठूला सामाजिक सञ्जाल कम्पनीहरू इन्स्टाग्राम र युट्युबमाथि बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर पार्ने गरी ‘लत बनाउने मेसिन’ निर्माण गरेको आरोपसहित ऐतिहासिक मुद्दाको सुनुवाइ सुरु भएको छ । क्यालिफोर्नियाको लस एन्जलस सुपेरियर कोर्टमा सुरु भएको यस मुद्दाले सामाजिक सञ्जालको डिजाइन र त्यसका प्रभावबारे गम्भीर बहस सुरु गराएको छ ।मुद्दाको प्रारम्भिक बहसमा वादी पक्षका वकिल मार्क लानियरले (नाम गोप्य राखिएका व्यक्ति ) सामाजिक सञ्जालको लतका कारण मानसिक स्वास्थ्य समस्यामा परेको दाबी गरेका थिए । उनले अदालतमा यी कम्पनीहरूले जानाजानी बालबालिकाको मस्तिष्कलाई लत लाग्ने गरी मेसिन बनाएको आरोप लगाउदै यो कुनै दुर्घटना होइन, सोचेर गरिएको डिजाइन भएको दाबी गरेका थिए ।
लानियरले मेटा (इन्स्टाग्रामको मातृ कम्पनी) र युट्युबले आफ्ना प्लेटफर्मको जोखिमबारे किशोर प्रयोगकर्तालाई चेतावनी दिन असफल भएको आरोपसमेत लगाएका छन् । उनले यो मुद्दा इतिहासकै सबैभन्दा धनी दुई कम्पनीहरूले बालबालिकाको मस्तिष्कमा कसरी लत इन्जिनियर गरे भन्नेबारे भएको अदालतमा बताएका थिए ।उनले सन् २०१५ को एक आन्तरिक इमेल प्रस्तुत गर्दै मेटाका सीईओ मार्क जुकरबर्गले प्रयोगकर्ताले प्लेटफर्ममा बिताउने समय १२ प्रतिशतले बढाउन निर्देशन दिएको उल्लेख गरेको देखाएका थिए । युट्युबका हकमा भने, बाल प्रयोगकर्तालाई लक्षित गरेर विज्ञापनबाट बढी आम्दानी गर्न खोजिएको आरोप लगाइएको छ । लानियरले व्यस्त अभिभावकलाई लक्षित गर्दै युट्युबले आफूलाई ‘डिजिटल बेबीसिटर’ का रूपमा प्रस्तुत गरेको आरोपसमेत लगाए ।
यता प्रतिवादी मेटा र युट्युबका वकिलहरूले भने (नाम नखुलाइएका व्यक्ति) को मानसिक समस्या सामाजिक सञ्जालका कारण नभई उनको व्यक्तिगत र पारिवारिक जीवनका अन्य समस्याबाट उत्पन्न भएको दाबी गरेका छन् । मेटाका वकिल पाउल स्मिटले उनको परिवारभित्रको उपेक्षा, शारीरिक तथा मानसिक दुर्व्यवहार र अभिभावकबाट हुने दुर्व्यवहारको सिकार भएको अदालतमा बताएका थिए । अदालतमा प्रस्तुत अभिलेखअनुसार उनले सानै उमेरदेखि थेरापी लिन थालेकी थिइन् र उनको परिवारमा घरेलु हिंसाको इतिहास रहेको उल्लेख गरिएको छ । यो मुद्दा करिब छ हप्ता चल्ने अपेक्षा गरिएको छ र यसले अमेरिकाभर यस्तै प्रकृतिका अन्य मुद्दामा गहिरो प्रभाव पार्ने अनुमान गरिएको छ । सुनुवाइका क्रममा विज्ञ, पीडित परिवारका सदस्य, साथै मेटाका सीईओ मार्क जुकरबर्ग, इन्स्टाग्राम प्रमुख एडम मोसेरी र युट्युबका सीईओ नील मोहनले साक्ष्य दिने अपेक्षा गरिएको छ । साथै, सामाजिक सञ्जालको लतसम्बन्धी विषयमा पूर्व मेटा कर्मचारी तथा ह्विसलब्लोअरहरूको बयान पनि सुन्ने तयारी अदालतले गरेको छ ।
मुद्दाको नतिजाले हजारौं अन्य मुद्दामा क्षतिपूर्ति निर्धारणका लागि आधार तय गर्न सक्ने कानुनी विश्लेषकहरूको भनाइ छ । सुनुवाइको पहिलो दिन करिब सय जना दर्शक अदालत कक्षमा उपस्थित थिए, जसमा आफ्ना बालबालिका सामाजिक सञ्जाल कम्पनीहरूको एल्गोरिदम र डिजाइनका कारण मृत्यु भएको दाबी गर्ने अभिभावक पनि सहभागी थिए ।यसबीच मेटा र युट्युबले संघीय कानुनअनुसार तेस्रो पक्षले पोस्ट गर्ने सामग्रीका लागि आफूहरू जिम्मेवार नहुने अडान दोहोर्याएका छन् । उल्लेखनीय रूपमा, स्न्यापच्याटको मातृ कम्पनी स्न्याप र टिकटकले गत महिना (नाम नाखुलायेका व्यक्ति) सँग सम्झौता गरिसकेका कारण अब यस मुद्दाका प्रतिवादी नहुने बताइएको छ ।
कमेन्ट गर्नुहोस्