लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनउत्थानको पुन: अन्तर्राष्ट्रिय उपलब्धि : एशिया स्तरको ‘एक्सेस सिल्भर ब्रान्ड’ प्राप्त

IMG

कोटिहवा। रुपन्देहीको तिलोत्तमा–१५, कोटिहवामा अवस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले आफ्नो गौरवमय यात्रामा अर्को महत्वपूर्ण अध्याय थपेको छ। एशियाली ऋण महासंघ (ACCU) द्वारा २०२५ अगस्ट ७ मा गरिएको लेखापरीक्षणमा उत्कृष्ट प्रदर्शन गर्दै, संस्थाले ‘एक्सेस सिल्भर ब्रान्ड’ प्राप्त गरेको हो।


यो मान्यता प्राप्त गर्नु भनेको नेपालको सहकारी क्षेत्रमा अभूतपूर्व उपलब्धि हो। यो पुरस्कार पाउने जनउत्थान नेपालकै एक मात्र सहकारी हो भने एशिया भरमा दोस्रो हो। आर्थिक वर्ष २०८१/८२ को वार्षिक लेखा परीक्षण प्रतिवेदनअनुसार वित्तीय अवस्था, सदस्य सेवा, आन्तरिक व्यवसायिकरण र सिकाइ तथा वृद्धि यी चारै आधारमा संस्थाले उच्च अंक हासिल गरेको थियो।


अध्यक्ष गिरी प्रसाद पुनका अनुसार, यो उपलब्धि केवल संस्थाको मात्र नभई सम्पूर्ण नेपाली सहकारी आन्दोलनको सम्मान हो। “सीमान्तकृत समुदायदेखि युवा उद्यमीहरूलाई सशक्त बनाउन जनउत्थान निरन्तर अग्रसर रह्यो, त्यसकै परिणाम आज हामीले यो अन्तर्राष्ट्रिय स्तरको ब्रान्ड पाएका छौं,” पुनले बताए। व्यवस्थापक रनबहादुर थापाले भने, संस्थाको पारदर्शी वित्तीय व्यवस्थापन र नवीन सेवा विस्तार नै यसको सफलता भएको बताए।यो वर्ष इन्डोनेसियाको ‘सौन सिबारुङ क्रेडिट युनियन’ र जनउत्थान मात्रै यो ब्रान्ड प्राप्त गर्ने सूचीमा छन्। यसअघि जनउत्थानले ‘ब्रान्ज एक्सेस ब्रान्ड’ पनि जितिसकेको थियो। सिल्भर ब्रान्डको औपचारिक प्रमाणपत्र भने आगामी सेप्टेम्बर १२ मा फिलिपिन्सको मनिलामा हुने एशियाली क्रेडिट युनियन फोरम २०२५ को उद्घाटन समारोहमा प्रदान गरिनेछ


२०५९ सालमा सुरु भएको यात्रा

जनउत्थानको सुरुवात २०५९ साल असोज २६ गते साविक टिकुलीगढ गा.वि.स.–८ सुपौलीमा पाँच जना चेतनशील युवाको अनौपचारिक छलफलबाट भएको हो। ३१ सदस्यबाट एक–एक सय रुपैयाँ संकलन गरेर सुरु भएको यो सहकारी, आज ३९ हजारभन्दा बढी सदस्य, १० सेवा केन्द्र र ८ संकलन केन्द्रसहित देशकै अग्रणी सहकारी बनेको छ।


वित्तीय अवस्था र सेवा विस्तार

आजको जनउत्थान वित्तीय दृष्टिले मजबुत र प्राविधिक दृष्टिले आधुनिक छ। हाल यसको कुल सम्पत्ति रु. ४४४ करोड ६४ लाखभन्दा बढी पुगेको छ। शेयर पूँजी रु. २८ करोड ४३ लाख छ भने जगेडा कोष रु. ४.४७ करोड रहेको छ।मोबाइल बैंकिङ सेवामा पनि उल्लेखनीय प्रगति भएको छ । ९३४४ सदस्य सक्रियरूपमा मोबाइल एप प्रयोग गर्छन्, जसबाट २०८२ असार महिनामा मात्रै रु. २२ करोड ६४ लाखभन्दा बढी कारोबार भएको छ। राज्य कोषमा संस्थाले रु. २ करोड ५३ लाखभन्दा बढी योगदान दिएको छ। आर्थिक वर्ष २०८१/८२ मा मात्र ४,०९६ नयाँ सदस्य थपिएका छन्, जसले संस्थाको लोकप्रियता र सदस्य विस्तारको गति देखाउँछ।


सम्मान र पहिचानको यात्रा

जनउत्थानको यात्रा केवल वित्तीय वृद्धिमा सीमित छैन, यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रशंसा पाउने लम्बेतान सूची पनि बनाएको छ। अन्तर्राष्ट्रिय ‘ब्रान्ज एक्सेस ब्रान्ड’ (२०८१), नेपाल गुणस्तर प्रोबेसन कार्यक्रमको सफल ब्रान्ड (२०७९), नेपालकै सर्वोत्कृष्ट साकोस (२०७८) लगायतका दर्जनौँ अवार्डहरू संस्थाको उपलब्धिको प्रमाण हुन्।कोभिड–१९ को चुनौतीपूर्ण समयमै कृषि एम्बुलेन्स सञ्चालन गरेर सम्मान पाउनु, कृषि तथा सहकारी मन्त्रालयबाट नगद पुरस्कारसहित उत्कृष्ट सहकारीको मान्यता (२०७४), उत्कृष्ट करदाता, उत्कृष्ट व्यवस्थापक, उत्कृष्ट अध्यक्ष पुरस्कार, पश्चिमाञ्चल स्तरको उत्कृष्ट साकोस र नेपाल रेडक्रसबाट अधिकतम रक्तदान गर्ने वित्तीय संस्थाको सम्मान । यी सबैले जनउत्थानको सामाजिक प्रतिबद्धता र पेशागत उत्कृष्टता दुवै प्रमाणित गर्छन्।


“वित्तीय समाधानको लागि सबैको पहिलो रोजाइ जनउत्थान सहकारी” भन्ने नारासहित, अध्यक्ष पुन र व्यवस्थापक थापाको नेतृत्वमा संस्था अझै आधुनिक, पारदर्शी र समावेशी वित्तीय सेवाको केन्द्र बन्ने लक्ष्यमा अघि बढिरहेको छ। जनउत्थानको यो उपलब्धिले न केवल संस्थाको हैसियत बढाएको छ, बरु सम्पूर्ण नेपाली सहकारी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा उज्यालो पारेको छ।

कमेन्ट गर्नुहोस्