लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तम्घासमा ‘हाइ-मास्ट लाइट’ जडान

tillotmacitynews - 2024 Jun 26 11:56 AM
IMG

तिलोत्तमा सिटी,२०८१ असार  १२ गते। गुल्मीको सदरमुकाम तम्घासको विभिन्न तीन स्थानमा ‘हाइ–मास्ट लाइट’ जडान भएसँगै बजार उज्यालो भएको छ । रेसुङ्गा नगरपालिकाले ‘उज्यालो सहर : नागरिकको रहर’ अभियानसहित यहाँ सबैभन्दा बढी चहलपहल हुने विभिन्न तीन स्थानमा ‘हाइ–मास्ट लाइट’ जडान गरिएको हो । 


तम्घास बजार क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नुका साथै बजारलाई रातिमा पनि सुन्दर र उज्यालो बनाउनका लागि उच्च क्षमताको ‘हाइ–मास्ट लाइट’ जडान गरिएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो । अग्लो र धेरै बजार क्षेत्र समेट्ने गरी राखिएको भन्दै उहाँले सुन्दर शहर बनाउने उद्देश्य राखिएको बताउनुभयो । 


चिदीचौर खेलमैदानको साइड, बसपार्क र उदिनढुङ्गा जीप पार्कमा ‘हाइ–मास्ट लाइट’ जडान गरेसँगै बत्ती बल्न थालेको छ । नगरपालिकाले अन्य विभिन्न मुख्य बजार क्षेत्र र चोकहरुमा पनि जडान गर्ने नगरप्रमुख पन्थीले बताउनुभयो । चिदीचौरमा १६ मिटर लम्बाई भएको पोलमा ३२०० वाट, बसपार्कमा १२ मिटर लम्बाई भएको पोलमा २४०० वाट र जिप पार्कमा १२ मिटर लम्बाई भएको पोलमा २४०० वाट क्षमता भएको ‘हाइ–मास्ट लाइट’ जडान गरिएको छ । 


नगरपालिकाको करिब १२ लाखको लागतमा जडानसँगै सञ्चालन ल्याइएको ‘हाइ–मास्ट लाइट’ को बजार क्षेत्रको विद्युत महशुल रेसुङ्गा नगरपालिकाले व्यहोर्ने प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्ली बताउनुभयो । यसरी रेसुङ्गा नगरपालिकाले ‘उज्यालो सहर : नागरिकको रहर’ अभियान अन्तर्गत विभिन्न मुख्य चहलपहल हुने स्थान र चोकहरुमा ‘हाइ–मास्ट लाइट’ जडान गर्दा यहाँका नागरिकहरु अत्यन्तै खुसी भएका छन् । 


शान्ति सुरक्षा कायमसँगै सुन्दर र उज्यालो बजार हुने भन्दै स्थानीय नागरिकले खुसी व्यक्त गरेका छन् । 

कमेन्ट गर्नुहोस्