लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्वास्थ्य स्वयंसेविकालाई लुम्बिनी प्रदेश सरकारकाे सम्मान

IMG

तिलोत्तमा सिटी, २०८० चैत १८ गते । ६० वर्ष उमेर पूरा भई सेवाबाट बिदाइ हुने महिला स्वास्थ्य स्वंयसेवकलाई लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले सम्मान गर्नुभएको छ । लुम्बिनी प्रदेश सरकारले यस वर्षदेखि आफ्नो सेवाबाट बिदा हुन लागेका स्वास्थ्य स्वयंसेवकलाई जनही ५० हजार दिने निर्णय गरेको हो । हरेक वर्ष सेवाबाट बिदा हुने स्वयंसेवकलाई सङ्घीय सरकारले २० हजार दिने गरेको छ । तर लुम्बिनी प्रदेशले भने सातै प्रदेशमध्ये पहिलो पटक स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै स्वय‌ंसेवकलाई ५० हजार दिने निर्णय गरेको हो । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये आइतबार नेपालगन्जबाट १३ जनालाई सम्मान तथा रकम हस्तान्तरण गर्दैै कार्यक्रमको सुरुवात गरिएको छ । 


मन्त्री खनालले गाउँघरमा देखिने महामारी, गर्भवती महिलामा देखिने समस्या, खोप सेवा लगायतका बारेमा समुदायमा गएर जागरण ल्याउने काम स्वास्थ्य स्वयंसेवकले गर्नुभएको बताउँदै उहाँहरुको योगदानलाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, "अत्यन्त न्यून सुविधामा उहाँहरुले समाजका लागि योगदान गर्नुभएको छ । हामीले मासिक रुपमा केही सहयोग गर्न सकिन्छ भनेर छलफल गरेका थियौं । तर हाम्रो मन्त्रालयको बजेटले त्यसलाई नभ्याउने भएपछि सेवाबाट बिदा हुनेलाई आर्थिक सहयोग गर्न सकिन्छ भन्ने निर्णयमा पुग्यौं । भविष्यमा आउने मन्त्रीले पनि यो सहयोगलाई निरन्तरता दिने सक्नेछन् । यसबाट स्वंय सेवकहरुलाई पनि प्रदेश सरकारले हाम्रो योगदान र मिहिनेतको सम्मान गर्यौँ भन्ने महसुस होस भनेर यो कार्यक्रमको सुरुवात गरेका हौं ।"


लुम्बिनी प्रदेशमा ९ हजार महिला स्वास्थ्य स्वयंसेवकहरुले जनस्तरमा स्वास्थ्य सेवाका क्षेत्रमा काम गरिरहनुभएको छ । लुम्बिनी प्रदेशमा हरेक वर्ष करिब ४ सय जनाले ६० वर्ष पुगेपछि आफ्नो सेवाबाट बिदा हुने गर्नुभएको छ । आइतबार स्वास्थ्य कार्यालय बाँकेले आयोजना गरेको सम्मान तथा बिदाइ कार्यक्रममा बोल्दै नेपालगन्ज उप–महानगरपालिकाका मेयर प्रशान्त विष्टले नगरभित्र हरेक वर्ष अवकाश प्राप्त गर्ने महिला स्वास्थ्य स्वयंसेवकलाई जनही ५० हजार रुपियाँ दिने घोषणा गर्नुभयो । 


जनसमुदाय स्तरमा स्वास्थ्य स्वयंसेविकालाई मानिसहरुले डाक्टरको रुपमा विश्वास गर्ने गरेको बताउँदै मेयर विष्टले स्वास्थ्य स्वयंसेवकको सेवा सुविधा र क्षमताको विकास गर्ने कार्यक्रम निर्माण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, "उहाँहरुले दिनरात जनताको सेवा गरिरहनुभएको छ । हामीलाई थाहा छ गर्मी, जाडो र वर्षाको समयमा पनि उहाँहरुले आफनो जिम्मेवारी इमानदारिताका साथ निर्वाह गर्नुभएको छ । राज्यले बनाएको स्वास्थ्य नीति अनुसार समुदाय स्तरमा गएर काम गर्नुभएको छ । घर–घरमा गएर काम गर्नुभएको छ । उहाँहरुको सेवाका कारण नगरभित्र बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार आइरहेको छ । त्यसको लागि म उहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।" नेपालगन्जले हरेक वर्ष स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धि गर्नको लागि १ लाख रुपियाँ समेट छुट्याउने गरेको उहाँले जानकारी गराउनुभयो । स्वास्थ्य स्वयंसेवकको बिदाइ तथा सम्मान कार्यक्रम नेपालगन्जबाट सुरुवात गरेकोमा मेयर विष्टले लुम्बिनी प्रदेश सरकारलाई धन्यवाद दिनुभयो । 


आइतबार पहिलो चरणमा बाँकेको नेपालगन्ज र जानकी गाउँपालिकाको गरी १३ जनालाई सम्मान तथा बिदाइ गरिएको थियो । सेवाबाट बिदा हुनेहरुमा नेपालगन्ज उप–महानगरपालिकाबाट नुरजाह हलुवाई, साजदा हलुवाइनी, इन्दिरा कनोजिया, अप्सरुन अन्सारी, बिना पाण्डे, तुलसा थापा, रेश्मादेवी गौतम, लक्ष्मी खत्री, छम्मी बेहना र सानिया बानो शेष रहनुभएको छ । यसैगरी जानकी गाउँपालिकाबाट अमृता सुनार, अमिना पठानी र लक्ष्मी कुमारी चन्द रहनुभएको छ । 


आइतबार भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभासद सुशीला वादी, मिना सिद्धिकी महिला स्वास्थ्य स्वयंसेवकहरुको सेवा सुविधा वृद्धिमा सबै तहका सरकारले वार्षिक रुपमा बजेट बिनियोजन गर्नुपर्ने बताउनुभएको थियो । 


कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाही, नेपालगन्ज उप–महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दलगायतले बोल्नुभएको थियो । 

कमेन्ट गर्नुहोस्