
तिलोत्तमा सिटी, २०८० चैत ९ गते । बुटवलमा छाडा चौपायाका कारण सडक दुर्घटना बढ्दै गएपछि सडकमा छोडिएका गाई गोरुको व्यस्थापन सुरु गरिएको छ । पहिलो दिन ४ सय बढी गाई गोरु गौशाला पुर्याइएको छ । बुटवल उपमहानगरपालिकाले छाडा छोडिएका गाईगोरुको व्यवस्थापन सुरु गरिएको हो । शुक्रबार नगरप्रमुख खेलराज पाण्डेयको नेतृत्वमा बुटवलका विभिन्न चोकबाट जनप्रतिनिधि, सुरक्षाकर्मी, नगरप्रहरी, सरकारी कर्मचारीसहितका सर्वसाधरणहरुको पहलमा छाडा चौपायालाई नियन्त्रणमा लिएर शिवनगरस्थित गौशालामा लगिएको छ ।
पहिलो चरणमा बुटवलका वडा नम्बर ३ देखि ११ सम्मका छाडा चौपायालाई गौशालामा लगेर व्यवस्थापन गरिएको नगरप्रमुख पाण्डेयले बताए । ‘अब यसलाई नियमित रुपमा अभियानकै रुपमा अघि बढाउँदैछौं,’ उनले भने, ‘पहिलो दिन ४ बढी गाई गोरु र बाच्छाबाच्छीको व्यवस्थापन गरिएको छ ।’ पूर्वपश्चिम राजमार्ग र अन्य सडकहरुको केन्द्र बुटवल भएकाले चारै तर्फबाट आएका चौपाया बुटवल र राजमार्ग केन्द्रीत हुँदा सडक दुर्घटनासमेत बढेकाले अब नियमित रुपमै छाडा चौपायाको व्यवस्थापनमा उपमहानगरपालिका जुटेको उनले बताए ।
उपमहानगरपालिकाले सुरु गरेको अभियानलाई स्थानीय स्तरका टोलविकास संस्था, वडा कार्यालय र सुरक्षा निकायका युनिटहरुलाई पनि प्रयोग गरेर नियमित रुपमा व्यवस्थापन गर्दै बुटवल नगरलाई थप व्यवस्थित र सुन्दर बनाउने प्रयास भइरहेको उपप्रमुख साबित्रादेवी अर्यालले बताइन् । छाडा चौपाया व्यवस्थापन अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न संघसंस्था, स्वयमसेवक र सर्वसाधरण नागरिकलाई पनि सँगै लिएर उपमहानगरपालिका अघि बढेको उनले बताइन् । ‘सबैको साथ र सहयोग भईरहेको छ,’ उनले भनिन्, ‘पहिलो चरणमा बुटवलमा रहेका छाडा चौपायाको व्यवस्थापन गछौं र दोस्रो चरणमा बाहिरबाट बुटवल प्रवेश गर्ने नाकाहरुमै नियन्त्रण सुरु गर्नेछौं ।’
सडकमा गाई गोरु देखेमा शिवनगर गौशालामा पुर्याउन वा बुटवल उपमहानगरपालिकालाई खबर गर्न पनि आग्रह गरेकी छन् । गौशालामा पुर्याईएका गाई गोरुको नियमित संरक्षण्का लागि उपमहानगरपालिकाले दाना र पराल एवं हेरालुको पनि व्यवस्थापन गरेको प्रमुख प्रशासकिय अधिकृत मित्रमणि खनालले बताए ।
कमेन्ट गर्नुहोस्