लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बलात्कारविरुद्ध बालिकाहरुको प्रदर्शन

tillotmacitynews - 2024 Mar 07 07:56 PM
IMG

तिलोत्तमा सिटी २०८० फागुन २४ गते । बालिका बचाऊको माग गर्दै बालिकाहरु बिहीबार दिउँसो सडकमा निस्किए । बलात्कार र हिंसाका घटनाले बालिकाहरु असुरक्षित भएको भन्दै उनीहरुले सडकमै चेतनामुलक नाच प्रदर्शन गरे । ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा उनीहरुले रचनात्मक तरिकाले दिवस मनाउने उद्देश्यका साथ बलात्कारविरुद्ध चेतनामुलक रोड-शो गरेका हुन् । घोराही उपमहानगरपालिका–१६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा गठित किशोरी क्लव, बाल क्लव र रेडक्रश सर्कलमा आवद्ध बालिकाहरुले बलात्कारका दोषीहरुलाई कारवाहीको माग गर्दै फरक तरिकाले महिला दिवस मनाएका छन् ।


बालिकाहरुले बलात्कारका दोषीलाई कारबाही हुनुपर्ने, बालिकाको सुरक्षाको ग्यारेण्टी हुनुपर्ने, बालिका बचाउन सरकार गम्भिर हुनुपर्ने लगाएतका सन्देशमुलक गितहरुमा सडक नाच प्रदर्शन गरे । प्रकाश सपुतको ‘बदला बरिलै’ गितमा नाच प्रदर्शन गर्दै उनीहरुले ‘बलात्कारी हौ तिमी, बलात्कारी हौ’ भन्ने खबरदारीपूर्ण गीतमा अभिनय गरेका थिए ।


दिनहुँजसो बलात्कारका घटना भइरहेका सन्दर्भमा बालिकाहरुको सुरक्षाको माग गर्दै सडकमा नाच प्रदर्शन गरेको किशोरी क्लवकी सचिव अदिती केसीले बताइन् । ‘कतिपय बलात्कारका घटनामा लामो समयसम्म पनि दोषी पत्ता नलाग्ने समस्या छ,’ उनले भनिन्,‘बलात्कारका घटना बढ्दै जाने तर दोषीलाई कारबाही नहुने समस्या छ । यसविरुद्ध चेतना फैलाउन रोड शो गरेका हौं ।’


बलात्कार पीडितको संरक्षण नहुने समस्या रहेको र यसले बालिकाहरुलाई असुरक्षाको महशुस भइरहेको बिद्यार्थी स्मारिका चौधरीले बताइन् । ‘बलात्कार जस्तो जघन्य अपराधमा कमी आउन सकेको छैन,’ उनले भनिन्,‘यसले हामीहरुलाई सुरक्षाको महशुस गराउन सकेको छैन । यसविरुद्ध सन्देश दिन बालिकाहरु एकजुट भएर सडकमा आएका हौं ।’


नृत्यमा सहभागी बालिकाहरुले बलात्कारका कारण धेरै बालिकाहरु त्रासमा बाँचिरहेको गुनासो गरे । हरेक महिला दिवसमा महिला अधिकारका बिषयमा छलफल हुने गरे पनि महिला र बालिकामाथि हिंसा हुने क्रम नरोकिएपछि बालिका बचाऊको सन्देश दिंदै चेतनामुलक रोड शो गरेको विद्यालयकी कार्यक्रम संयोजक बिमला केसीले बताइन् । बालिका र किशोरीहरुमा रहेको असुरक्षाको भावना हटाउन सरकार गम्भीर हुनुपर्ने उनले बताइन् ।


अन्तर्राष्ट्रिय महिला दिवस रचनात्मक तरिकाले मनाउन बलात्कारविरुद्धको चेतनामुलक नाच तयार गरी सडकमा प्रदर्शन गरेको बिद्यालयकी नृत्य शिक्षिका अनुशा वलीले बताइन् । यसले लैंगिक हिंशा र बलात्कारका घटनाप्रति सबैलाई संबेदनशील बनाउन भूमिका खेल्ने बिश्वास उनले व्यक्त गरिन् । बालिकाहरुले महिला हिंशा अन्त्य हुनुपर्ने, लैंगिक विभेद् अन्त्य हुनुपर्ने, बलात्कारका दोषीलाई कारबाही हुनुपर्ने, बालिकाको सुरक्षा हुनुपर्ने जस्ता नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकी बिद्यालयदेखि सर्रा चोकसम्म र्‍याली गरेका थिए ।

कमेन्ट गर्नुहोस्