लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

घर छिरेका चोरको कुटपिटबाट एकको मृत्यु, एक घाइते

tillotmacitynews - 2024 Mar 07 04:12 PM
IMG

तिलोत्तमा सिटी २०८० फागुन २४ गते । बाँकेमा बुधवार राति चोरी गर्ने उद्देश्यले घरमा पसेका चोरहरूको कुटपिटबाट एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको नजिकै रहेको जानकी गाउँपालिका ५ रुद्रपुर नयाँ बस्ती निवासी सन्तोष थारुको घरमा बुधवार राति करिब १ बजे पाँच सात जनाको समूहमा चोरी गर्ने उद्देश्यले छिरेकाहरूले कुटपिट गरेपछि गम्भीर घाइते भएका सन्तोष थारुको उपचारको क्रममा शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ।


जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सो घटनामा परि घाइते हुनुभएकी मृतक थारुकी पत्नी सबिता थारुको भेरी अस्पतालमा उपचार भइरहेको छ । लुटेराहरूले लुट्न खोज्दा थारु परिवारले प्रतिकार गरेको हुँदा धारिलो हतियार प्रयोग गरेर उनीहरूमाथि आक्रमण र कुटपिट गरिएको मृतक थारुकी साली बसन्ती चौधरीले बताउनुभयो ।


प्रहरी नायब निरीक्षक जय बहादुर थारुको कमान्डमा खटिएको प्रहरी टोलीले लुटेराहरूको खोज तलास गरिरहेको पनि जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। चोरहरूले थारु परिवारलाई कुटपिट गरेर घाइते बनाई उहाँको घरबाट दुई वटा कानको झुम्का, एउटा नाकको फुली, दुई वटा मोबाइल र करिब ४० हजार नगद लुटेर फरार भएको पनि प्रहरीले जनाएको छ।


जिल्ला प्रहरी कार्यालयबाट ३ किलोमिटरको दुरीमा यस्तो लुटपाट र हत्याको घटना भएकोले स्थानीयले सुरक्षा व्यवस्था प्रति प्रश्न उठाएका छन् ।

कमेन्ट गर्नुहोस्