लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिद्धबाबा सुरुङमार्ग निर्माण तिब्र गतिमा, १९.७ मिटर खनियो

IMG

तिलोत्तमा,२०८० फाल्गुण ११ गते। सिद्धार्थ राजमार्गमा निर्माणाधिन सिद्धबाबा सुरुङमार्गले गति लिएको छ ।आयोजनाका अनुसार यस आयोजनाको मुख्य सुरुङमार्ग उत्खननको कामको प्रगति साउथ पोर्टलतर्फ १९.७ मिटर भइसकेको छ ।सिद्धार्थ राजमार्ग अन्तर्गत सर्वाधिक पहिरोग्रस्त क्षेत्र सिद्धबाबामा सुरुङ खन्ने काम ४ माघदेखि औपचारिक रुपमा सुरु भएको हो ।पछिल्लो अपडेट अनुसार सुरुङमार्गतर्फ बाइपास टनेल प्रथम ५.८ मिटर, बाइपास दोस्रो ७ मिटर र बाइपास टनेल तेस्रोको ४ मिटर उत्खनन भइसकेको छ । स्लोप कटिङ र प्रोटेक्सनतर्फ १८८ मिटर बराबरको काम भएको छ ।


आयोजनाका अनुसार यो आयोजनाको भौतिक प्रगति १०.४५ प्रतिशत पुगेको छ । जसमध्ये ६.४ प्रतिशतमा डिजाइन, विस्तृत अध्ययन, रूखकटान, ल्याब तथा पवार सप्लाइका काम पर्छन् भने ४.०५ प्रतिशत प्रगति भने संरचना भएको देखिएको छ ।नर्थ पोर्टल र साउथ पोर्टलको काम समेत सुरु भएको आयोजनाले जनाएको छ । यो परियोजनाको निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी) ले गरिरहेको छ ।यस आयोजनामा कुल १ किलोमिटर १२६ मिटर लामो सुरुङ बन्ने छ । यसबाहेक बुटवल र पाल्पातर्फको ७८० मिटर सडकमा दोहोरो लेन, स्लोप प्रोटेक्सनसहितको संरचना गरी कुल २.५९ किलोमिटर क्षेत्रमा भौतिक संरचना निर्माण हुँदैछ ।


पोखरासँग जोड्ने सुरुङमार्ग पूरा भएपछि सो क्षेत्रमा पहिरोको जोखिम घटाउने र स्थानीय आर्थिक विकासमा समेत योगदान पुग्ने अपेक्षा लिइएको छ ।सिद्धबाबा सुरुङ आयोजनाको ठेक्का प्रक्रिया २०७८ सालमै सम्पन्न भएको हो ।  सीएससीईसीले इन्जिनियरिङ, प्रक्योरमेन्ट एन्ड कन्ट्रक्सन (ईपीसी) मोडलमा सुरुङ मार्गको ठेक्का पाएको हो ।यो आयोजना ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लागेको हो । अहिले नारायणगढ–बुटवल सडक खण्डको कामको ठेक्का पाएकै कम्पनीले सुरुङ मार्ग बनाउन थालेको हो । यो सडक खण्डको काममा ढिलाइ गर्दा आलोचना बेहोरेको कम्पनीले अबको ४ वर्षभित्र सुरुङ मार्गको निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने जिम्मेवारी छ ।सिद्धबाबा सुरुङका लागि १ मंसिर २०७७ मा मन्त्रिपरिषद् बैठकले बजेट सहमति प्रदान गरेको थियो ।९ जेठ २०७८ मा सडक विभागले ग्लोबल टेन्डरमार्फत ठेक्का आह्वान गरेको थियो । सोही अनुसार कम बजेट प्रस्ताव गर्ने चिनियाँ कम्पनीले सुरुङ निर्माणको जिम्मेवारी पाएको हो । यसको निर्माण पश्चात समेत सोही कम्पनीले ५ वर्षसम्म मर्मतको काम समेत गरिदिनु पर्ने सर्त छ । सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म यातायातका साधन चल्ने गर्छन् । हरेक वर्ष जाने पहिरोले जनधनको क्षति पु¥याएसँगै सरकारले यहाँ सुरुङमार्ग निर्माणको निर्णय गरेको थियो ।


कस्तो बन्दैछ सुरुङ ?

आयोजनाका अनुसार यहाँ बुटवल र पाल्पा दुवैतर्फ जोखिमयुक्त सडकमा दुई लेनको सडक बनाइने छ । सडकको माथिल्लो भागमा सुरक्षा संरचनाहरु बनाइने छ । यसले सडक माथिबाट खस्ने ढुंगाहरुलाई सिधै तल झार्ने छ । यसरी कुल ३ किलोमिटर सडकलाई सुरक्षित गराउने योजना छ ।सुरुङ मार्गको तीन स्थानमा खुला स्थान राखिने भएको छ । आकस्मिक घटना भइहालेमा सोही स्थानबाट उद्धारको काम हुने छ । सुरुङ मार्ग निर्माणका लागि १६ पुसदेखि सिद्धार्थ राजमार्ग समेत ६ घण्टा बन्द गरिएको छ । यहाँ सुरुङमार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल तथा स्लोपको काम गर्दा सडक साघुरो हुने भएपछि बाटो बन्द गरी काम थालिएको आयोजनाको भनाइ छ । 

कमेन्ट गर्नुहोस्