
तिलोत्तमा सिटी,२०८० माघ २८ गते । निस्दी गाउँपालिका–१, बाकामलाङका शिवलाल सोतीलाई रामपुर हुँदै गाउँपालिका केन्द्र मित्याल पुग्न एकतर्फी गाडीभाडा ७ सय रुपैयाँ तिर्नु पर्दा मन खिन्न हुन्छ । दुईतर्फी सवारी भाडा र एकदिनमै पालिकामा काम नहुँदा ३ हजारसम्म खर्च लाग्छ ।अब भने उनमा केही आशा पलाएको छ । गाउँपालिका केन्द्रमा पुग्ने सोझो सडकको स्तरोन्नति सुरु भएको छ । ‘पहिला रामपुर–बेलडाँडा भएर पालिका केन्द्र मित्याल जाँदा खर्च धेरै र समय पनि बर्बाद भएको थियो,’ उनले भने, ‘अहिले हिउँदमा गाडी चलाइएको छ । वर्षायाममा पनि चल्ने गरी स्तरोन्नतिको काम पालिकाले सुरु गरेको छ । यसबाट खुसी नहुने कुरै भएन ।’
१८ किलोमिटरमै पालिका पुगिने गरी सडकको स्तरोन्नति भइरहेकोमा खुसी लागेको निस्दी गाउँपालिका–१, बाकामलाङकै झविलाल ढेंगा मगरले बताए । उनका अनुसार अहिले रामपुर हुँदै पालिका कार्यालय पुग्न ४० किलोमिटरको यात्रा तय गर्नुपर्छ । हिउँदमा जेनतेन केही छोटो सडक भए पनि वर्षायाममा रामपुर भएर जानुपर्ने बाध्यता छ । ‘पालिकाले स्तरोन्नति गर्न सुरु गरेको सडकले सबै भन्दा बढी फाइदा बाकामलाङकालाई नै हुन्छ,’ उनले भने, ‘अन्य वडालाई भन्दा केन्द्र अपायक हामीलाई नै हो ।’
सडक स्तरोन्नति सुरु हुँदा सोती र ढेंगा मगरलाई मात्र होइन, बाँकामलाङका सयौं बासिन्दा अन्य वडाका भन्दा बढी खुसी छन् । निस्दी गाउँपालिकाले सबै वडा समेट्ने गरी सुरु गरेको ४३ किलोमिटर सडक स्तरोन्नतिको कामले तीव्रता पाएपछि स्थानीय खुसी भएका हुन् । दुई वर्षभित्र सडक स्तरोन्नति सक्नेगरी ‘केम खाम्चा मार्ग’ को कामले तीव्रता पाएपछि निस्दी गाउँपालिका–२, सहलकोटका देवबहादुर रानाले बताए ।सडकमा नाली निर्माण, मेसिनरी वाल, ग्याभिन भर्ने, ह्युम पाइप राख्ने लगाएतका कार्य धमाधम भइरहेको छ । २०८२ कात्तिक १२ गते भित्र सम्पन्न गर्ने गरी १५ करोड ६४ लाख ६९ हजार ८ सय ३९ मा सम्झौता भएर काम धमाधम अघि बढेको गाउँपालिकाका लेखा अधिकृत सरोज काफ्लेले जानकारी दिए ।गाउँपालिकाको सातमध्ये ६ वडालाई समेट्दै पर्यटकीय मार्ग विकास गर्ने र पालिकामा पहुँच सहज बनाउन गौरवको योजनाका रुपमा अघि बढाएको हो । निस्दी गाउापालिका–१, बाँकामलाङस्थित कालीगण्डकी करिडोर सडकको खुट्टेदेखि ज्यामिरेको होङ्गसी सिमेन्ट सडक चोकसम्म स्तरोन्नति गर्ने गरी काम सुरु भएको हो । संघीय र प्रदेश समपूरक बजेटमा गाउँपालिकाको लगानीमा ४३ मध्ये ३५ किलोमिटर सडक चौडा, १२ किलोमिटर सडकमा पक्की नाली र त्यति नै क्षेत्रमा ग्राभेल गरिने गाउँपालिकाले जनाएको छ ।
दुई वर्षभित्र स्तरोन्नति सकिने गरी ठेक्कामार्फत काम सुरु भएको हो । गाउँपालिकाको गौरवको योजनाका रूपमा ‘केम खाम्चा मार्ग’ ले ६ वडालाई समेट्दै पर्यटकीय मार्गका रुपमा विकास गर्ने योजना अनुसार काम अघि बढाएको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताए । गाउँपालिकामा वडाका बासिन्दालाई पहुँच सहज बनाउन गौरवका योजनाका रुपमा अघि बढाएको उनले बताए । निस्दी–७, ज्यामिरेको होङ्गसी सिमेन्ट सडक चोकसम्म स्तरोन्नतिको काम धमाधम सुरु भएको गाउँपालिका अध्यक्ष सारुले जानकारी दिए ।
संघीय र समपूरक बजेटका साथै गाउँपालिकाको बढी लगानीमा सञ्चालन भएको आयोजनाले हिउँद र वर्षा याममा सडक सञ्चालन गर्ने गरी काम अघि बढाइएको गाउँपालिकाका उपाध्यक्ष तिरणकुमारी श्रेष्ठले बताइन् । सडकले बाँकामलाङ, सहलकोट, झिरुवास, मित्याल, अर्चले, ज्यामिरेलाई समेट्छ । पर्यटकीय मार्गअन्तर्गत ज्यामिरेको होङ्गसी सिमेन्टको चुनढुंगा खानी, अर्चलेको लेकडाँडा, मित्यालको हावाबाट बिजुली, झिरुवासको काउलेडाँडा अम्लिसो वन, सहलकोटको जुरे गुफा, बाँकामलाङका रमणीय क्षेत्रलाई समेट्ने गाउँपालिकाका सूचना अधिकारी अर्जुन खनालले बताए ।
कमेन्ट गर्नुहोस्