लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दुई दर्जन बढी सरकारी कार्यालय प्रमुख विहीन

IMG

तिलोत्तमा सिटी,२०८० माघ २६ गते । हुम्लामा  दुई दर्जन बढी सरकारी कार्यालयहरू कार्यालय प्रमुख विहीन भएको पाइएको छ । लामो समयदेखि कार्यालयहरू प्रमुख विहीन भएपछि सेवाग्राहीले सास्ती भोग्नु परेको छ । 


निमित्त प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुबेदीले सङ्घ तथा प्रदेश सरकारका जिल्लास्थित संरचनाहरूमा  दुई दर्जन बढी सरकारी कार्यालयहरू प्रमुख विहीन अवस्थामा रहेको बताउनुभयो । उहाँले कतिपय कार्यालय प्रमुख जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर गएको भए पनि कतिपय भने कुनै जानकारी दिएर नगएको कारण कता छन् भन्ने पत्तोसम्म नभएको बताउनुभयो । त्यसरी कार्यालयलाई प्रमुख विहीन बनाएर जिल्ला बाहिर गएका कार्यालय प्रमुखहरू डेढ महिनासम्म जिल्लामा नफर्किएको पाइएको छ । ती कार्यालय प्रमुख जिल्ला बाहिर सञ्चालन भएका तालिम, गोष्ठी र बैठकमा भाग लिन गएको भए पनि चिसो छल्नका लागि जिल्लामा नफर्किएको समेत देखिएको छ । उहाँले जिल्ला बाहिर गएका कार्यालय प्रमुखहरू एक देखि तीन दिने कार्यक्रमका लागि  गएको भए पनि हालसम्म फिर्ता नभएको देखिएको बताउनुभयो । 


जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको कार्यालय प्रमुख विहीन सङ्घ सरकार अन्तर्गतका कायालयहरु जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत, हुलाक सेवा कार्यालय, मालपोत कार्यालय, नापी, हिल्दु बिधुत वितरण केन्द्र, राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क, सिमकोट विमानस्थल, कोष तथा लेखा नियन्त्रण कार्यालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, स्याउ जोन, शिक्षा विकास तथा समन्वय एकाइ र जिल्ला समन्वय समितिको कार्यालय रहेका छन् । 


त्यसैगरी कार्यालय प्रमुख विहीन भएका प्रदेश सरकार अन्तर्गतका कार्यालयहरुमा स्वास्थ्य सेवा कार्यालय, डिभिजन बन कार्यालय, कृषि विकास कार्यालय, भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय, सामाजिक विकास कार्यालय, पूर्वाधार विकास कार्यालय, खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, प्रदेश लेखा इकाई रहेका छन् । त्यसैसरि राष्ट्रिय अनुसन्धानका प्रमुख समेत सरुवा भएर बिदाइ समेत भई सक्नु भएको छ भने नयाँ कार्यालय प्रमुख आई पुग्नु भएको छैन । यता सिमकोट गाउँपालिका पनि प्रमुख विहीन रहेको छ । 


प्रमुख विहीन भएका ती कार्यालयहरूमा कार्यालय सहयोगीदेखि खरिदारसम्मले कार्यालयमा निमित्तको रूपमा काम गर्दै आएका छन् । 

कमेन्ट गर्नुहोस्