लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

छठ पूजाका लागि तयार, तिलोत्तमाको जमुहानी पोखरी

IMG

तिलोत्तमा, मङ्सिर २ गते २०८०। शनिबारसम्मको तयारीमा तिलोत्तमाको जमुहानी पार्क भित्र रहेको छठि माताको पोखरीमा सजावट सकिएको छ। हरेक वर्ष यसैगरी तिहारपछि छठ पर्वमा मेला लाग्ने सो पार्कमा बत्ती जडान, झिलिमिली तथा पुजा आजा गर्नका लागि सबै तयारि सकिएको स्थानिय मनिष पोख्रेलले बताउनु भएको छ। तिलोत्तमा भित्र मेलाको आकर्षणको रुपमा रहेको जमुहानी पार्कमा दर्शनको लागि भक्त महानुभावहरुको छठमा घुइचो नै लाग्ने गर्छ।


पोखरी सजावट संगै सो स्थानमा छठी माताको मूर्तिमा बिशेष पुजा अर्चना गरिने छ। पछिल्ला वर्षहरुमा तिलोत्तमामा छठ पर्वको रौनक बढ्दै गएको छ । तराई–मधेसमा मात्र नभई मुलुकका सबै भू–भागमा छठ पर्व मान्ने चलन विस्तार भइरहेको छ । विभिन्न समुदायले सामूहिक रुपमा छठ पर्व मनाउँदै गर्दा छठ साझा पर्वका रुपमा विकास भएको छ । छठ पर्वले सामाजिक सद्भाव कायम गर्दै आपसी भाइचारा अभिवृद्धिमा महत्पूर्ण योगदान दिएको स्थानिय मनिष पोख्रेलले बताउनुभएको छ। छठ सबै समुदायको साझा पर्वका रुपमा मानिदै आएको उहाँको भनाइ छ। सबै समुदायका मानिस आएर यहाँ सौहार्दपूर्ण वातावरणमा पूजा गर्दै आउनुभएको छ’, पोख्रेलले भन्नुभयो ।


उहाँका अनुसार छठ पुजास्थल पुगी छठी माताको दर्शन तथा पूजा आराधना गर्ने कार्यक्रम छ । छठ पर्वको मुख्य दिन भोलि साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यससको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । रुपन्देहीका अन्य स्थानमा पनि छठ पूजाको तयारी गरिएको छ ।


नेपाली समाजमा कुरितीका रुपमा रहेको जातीय विभेद र छुवाछूत अन्त्य गर्ने पर्वका रुपमा पनि छठलाई लिइन्छ । ‘छठ पर्वमा सबैभन्दा ठूलो महत्व भनेको हामीले समावेशी सिद्धान्तका लागि राजनीतिक सङ्घर्ष गरिरहेका छौँ, यो पर्वभन्दा ठूलो उदाहरण अरु हुन सक्दैन । किनकी छठ पूजाको सामग्री र सामूहिक पूजा गरिन्छ । मधेसका डोम जातिले बनाएको बाँसबाट बनाइएका सामग्री, कुमालेको भाडाकुडा, किसानले उत्पादन गरेका तरकारी भनेपछि सामान्यदेखि सम्पन्न किसानको सामग्री प्रयोग, घाटमा पूजा गर्न आउनेले कुनै जात नसोध्ने भएकाले यो समावेशिताको प्रतीक हो’, पोख्रेलले भन्नुभयो।विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी, हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ ।



सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने महान् छठ पर्व चार दिनसम्म मनाइन्छ । यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । छठ पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर बनाइ प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन छ ।


कात्तिक शुक्ल चतुर्दशीका दिनबाट सुरु हुने छठ पर्व सूर्यको आराधना गरी मनाइन्छ । अत्यन्तै श्रद्धा र निष्ठाका साथ व्रत बसी अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई पूजा गरी मनाइने यो पर्व वर्षको दुईपटक चैत र कात्तिक महिनामा मनाउने गरिन्छ । विधि विधानअनुसार मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहिआएको छ । श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोका हात्ती, ढकनी, घैला र नयाँ बर्तालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायका सामग्रीको प्रयोग गर्ने गरिन्छ ।यस पर्वले धार्मिक विश्वासका साथै पारिवारिक सुख र समृद्धि प्राप्त हुने मान्यता रहेको पाइन्छ ।छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यस पर्वमा जो व्रत बस्न सक्दैन, उनीहरूले व्रत गर्नेबाट कामना पूरा गराउने प्रचलन छ ।



कमेन्ट गर्नुहोस्