लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या

tillotmacitynews - 2023 Sep 25 05:39 PM
IMG

तिलोत्तमा सिटी, असोज ८ गते । स्वास्थ्य विज्ञहरुले  गैरआवासीय नेपालीहरुमा आत्महत्या र डिप्रेसनको डरलाग्दो समस्या रहेको बताएका छन् । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको आयोजना र गैरआवासीय नेपाली संघ बेल्जियमको सहकार्यमा आइतबार आयोजित एक भर्चुअल मानसिक स्वास्थ्यसम्बन्धी जनजागरण कार्यक्रममा बोल्ने चिकित्सकहरुले विदेशमा मानसिक स्वास्थ्य बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।कार्यक्रममा स्वास्थ्य समितिका अध्यक्ष डा. सन्जिव सापकोटामा विश्वव्यापी नेपाली समुदायमा डिप्रेसनको समस्या रहेको बताए । उनले साइप्रस, साउदी अरेबिया, इजरायल, यूएई, अष्ट्रेलिया लगायतका देशमा रहेका नेपाली समुदायमाझ मानसिक स्वास्थ्य समस्या बढ्दै गएको बताए । स्वास्थ्य समितिका अनुसार  हालसम्म साइप्रसमा ८ जना, यूएईमा ८८ जना र  मलेसियामा २ सय जना भन्दा बढी नेपालीले आत्महत्या गरेका छन् ।


गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक  डा. संजीव सापकोटाले विश्वव्यापी रुपमा बढ्दै गएको आत्महत्या रोक्नको लागि विशेष जागरण कार्यक्रम ल्याउन जरुरी भएको बताए ।कार्यक्रममा डा. सुरज थापाले आधुनिकीकरणसंगै आत्महत्या बढेको संसारमा प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्ने गरेको जानकारी  दिए। उनले मानिसहरुमा हुने एक्लोपनका कारण पनि  युवाहरुमा आत्महत्या बढेको बताए । उनले गरिव मुलुकमा बढि आत्महत्या हुने गरेको बताउंदै नेपालमा वार्षिक ७ हजार भन्दा बढी मानिसहरुले आत्महत्या गर्ने गरेको तथ्यांक प्रस्तुत गरे । उनले नेपालमा पुरुष भन्दा बढी महिलाहरुले आत्महत्या गर्ने गरेको बताए । उनले आर्थिक संकट, गरिबी, बेरोजार, व्यक्तिगत असफलता, पारिवारिक हिंसा, कुलतमा परेको व्यक्तिहरुले बढी आत्महत्या गर्ने गरेको बताए ।


एनआरएनए बेल्जियमकी महासचिव रुविना शर्माले संचालन गरेको कार्यक्रममा डा. संजय यादवले  मानसिक स्वास्थ्य सम्बन्धी आधारभूत जानकारी दिएका थिए  । डा. यादवले आत्मग्लानि हुने, आफैलाई बोझ लाग्ने, एक्लै बस्दा टोलाउने, भान्सामा चक्कु देख्दा पनि डर लाग्ने जस्ता समस्यहरु मानसिक  रोगको लक्षण भएको बताए ।


एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाले स्वागत मन्तव्य दिएको सो कार्यक्रममा डा. निसिता पाठकले मानसिक स्वास्थ्यको समस्या बाल्यकालसंग पनि जोडिएको बताइन् । उनले बाल्यकालमा कुन अवस्थामा हुर्किएको हो त्यसले मानसिक स्वास्थ्यमा प्रभाव पार्ने बताइन् । उनले मानसिक रोगको लक्षण देखिए पछि साथीभाई परिवारभित्र खुलेर कुरा राख्न र मानसिक स्वास्थ्य चिकित्सकसंग परामर्श गर्न आग्रह गरिन् । उनले डिप्रेसन भैहाले पनि निको पार्न सकिने बताउंदै  मानसिक स्वास्थ्य समस्या रहेका व्यक्तिहरुलाई समाज र परिवारको सहयोगको ठूलो महत्व हुने बताइन् ।


कार्यक्रममा डा. बोधराज सुवेदीले सहभागीहरुलाई धन्यवाद दिंदै एनआरएनए स्वास्थ्य समितिले विदेशमा रहेका नेपालीहरुको स्वास्थ्यको बारेमा विभिन्न देशमा स्वास्थ्य जनजागरण सम्बन्धी कार्यक्रम आयोजना गर्दै आएको बताए । कार्यक्रममा सहभागीहरुले मानसिक स्वास्थ्य, डिप्रेसशन लगायतका  स्वास्थ्य समस्याकाबारेमा विज्ञ चिकित्सकहरुसंग आफ्ना जिज्ञासाहरु राखेका थिए ।

कमेन्ट गर्नुहोस्