साउन २८ गते २०८०,तिलोत्तमा। फिल्म गाजाबाजा बनाएर प्रदर्शन गर्ने बेलामा मुद्धा मामिलामा परेका निर्माता तथा निर्देशक गणेशदेव पाण्डेको नयाँ फिल्म जुलेबी भदौ १ गतेदेखि देशभर प्रदर्शन हुदै छ। जति दुख पाईने यस अघिका फिल्ममा पाइएको भन्दै पाण्डेले जुलेबीलाई सेन्सरले असर नपुग्ने बताए। चार महिला पात्रका चाहना (डिजायर) को कथा 'जुलेबी' को मूल विषयवस्तु हो । फिल्ममा चार महिलाको विद्रोही रुप देखाइएको पाण्डेको दाबी छ । फिल्मका चार पात्रमध्येकी एक हुन् द्वन्द्वकालमा पति गुमाएकी पत्नी आशा । आर्मीले लिएर गएका पति कहिले फर्किएलान् ? टुंगो छैन । बिरक्तिएर आशा काठमाडौं आइपुग्छिन् । किशोर अवस्थामै विपरीत लिङ्गीप्रतिको आकर्षित पात्र तृष्णालाई एक दिन परिवारले पुरुषसँग रंगे हात पक्रन्छ । परिवार उनीहरू दुवैलाई बिहे गराइदिन चाहन्छन्, तर बिचमै केटा भागिदिन्छ । अर्की पात्र छिन्, भूमिका । वैवाहिक सम्बन्धबाट मुक्त भएर प्रेम खोजिरहेकी । यौन व्यवसायमा लागेकी अर्की पात्र मायाले भने रत्नपार्कमै एक दिन प्रेमी भेट्छिन् । त्यही प्रेमीले एक दिन यो पेसा छाड्न भनिदिन्छन् । यस्तो अवस्थामा मायाले के गर्लिन् ? फिल्ममा यी चार पात्रले भोग्दै आएको जीवन र विभिन्न परिस्थितिमा उनीहरूले लिने निर्णय देखाइएको छ ।
भदौ १ देखि प्रदर्शनमा आउने 'जुलेबी'को ट्रेलर/टिजर हेर्नेहरुले फेरि पाण्डेलाई प्रश्न गर्न थालेका छन्,'तेरो फिल्म चल्छ त?'आफूभित्र दबिएको कथा भन्नैपर्छ भन्ने लागेपछि पाण्डेले चियाको कित्ली छोडेर स्क्रिप्टमा काम गरेको ३ वर्षअघि मात्रै हो । तर, अहिले धेरैले यो फिल्मले सेन्सरमा पाउन सक्ने दु:खको संकेत गर्दै प्रश्न गर्न थालेका छन् । पाण्डे आफ्नो रचनामाथिको हस्तक्षेप स्विकार्ने मुडमा छैनन् । सिर्जनामाथि सेन्सर हुनुहुँदैन भन्ने अडानमै छन् । 'कसैको रचनालाई सेन्सरले मूल्यांकन गर्ने होइन । सेन्सरले फिल्म हेर्ने/नहेर्ने निर्णय दर्शककै हातमा सुम्पनुपर्छ । खासमा सेन्सरसिप नै हुनुहुँदैन । सेन्सरसिप हुनुहुँदैन तर ग्रेडिङ गरेर प्रमाणपत्र दिनुपर्छ । एडल्ट विषयवस्तु भएको फिल्मलाई एडल्ट सर्टिफिकेट दिएर हलमा प्रदर्शन गर्न दिनुपर्छ,' उनी भन्छन्, 'मैले फिल्म बनाउनु पाउनुपर्यो । यहाँ मैले मात्र होइन, सोभित बस्नेतले पनि फिल्म बनाउन पाउनु पर्यो । निश्चल बस्नेतले पनि फिल्म बनाउन पाउनु पर्यो । यो सबैको अधिकारको विषय हो । पोर्न ब्यान गर्दैमा हेर्न छाडिएको छ र ? मेरो रचनालाई ब्यान गर्नु भनेको मलाई रोकेको होइन नि । हेर्ने व्यक्तिको चेतना छैन भनेर ब्यान्ड गर्न खोजिएको हो नि ।' पाण्डे फिल्मको विषयवस्तुलाई सेन्सरले बुझिदिनुपर्ने धारणा राख्छन् । उनी 'जुलेबी'लाई सेन्सरले दु:ख नदियोस् भन्ने माग राख्छन् । 'कुनै पनि कुरालाई अंकुश लगाउँदैमा रोकिन्छ भन्ने हुँदैन । हेर्नेले त एरोटिकदेखि कस्ता ब्रुटल फिल्महरु पनि हेरिसके नि,' पाण्डले भने ।
'जुलेबी' आफ्नो व्यक्तिगत जीवनसँग जोडिएका कथा रहेको पाण्डे सुनाउँछन् । जीवनमा आफूसँग जोडिएका महिला पात्रहरुलाई सम्झेर यो कथा भनिएको उनी बताउँछन् । 'मलाई धेरैचोटी प्रेम भयो जिन्दगीमा । आकर्षणमा भएका सबै महिला । उनीहरुलाई म मेरो तरिकाले बुझ्थें, त्यसैगरी चाहन्थें । उनीहरुको आफ्ना चाहना थिए होलान् तर म त मेरो चाहना मात्र राख्थें । उनीहरू चाहना के थियो होला भन्ने बुझ्न खोज्दाको कथा हो जुलेबी,' उनले भने । फिल्ममा चार महिलासँग जोडिने पुरुषमा कतै न कतै आफैं देख्छन्, गणेश । आफूले देखेको र भोगेका विषयलाई नै फिल्ममा पस्केका छन् । आफूले जुन आँटले यो विषय पस्कन खोजे त्यसमा चार अभिनेत्रीले देखाएको ऊर्जालाई पनि उनी सकरात्मक रुपले हेर्छन् । सुरक्षा, निशा अधिकारी, उषा रजक र मोनिका थापा यो मुद्दाका लागि खुलेर नआएको भए फिल्म पनि बन्ने थिएन । 'यी चार अभिनेत्री फिल्मका लागि तयार नभइदिएको भए जुलेबी बनाउन म पनि तयार हुने थिइनँ । सायद यो फिल्म बन्दै बन्ने थिएन,' उनी भन्छन्, 'कसैले तँ गलत भन्न आइरहेको छस् भनेको भए यो कथा नै भन्ने थिएन । तर, सबैले कस्तो रोचक कथा भन्न आएको छस् भन्ने हिसाबले नै मलाई साथ दिए ।'रत्नपार्कलाई नै सेट बनाएर 'जुलेबी' खिचिएको हो । गुरिल्ला शैली (भेटिएको स्रोत साधानको प्रयोग) मा यो फिल्म खिचिएको हो ।
फिल्म जलेबी को आज मन भारी मगन’ बोलको गीत रिलिज समेत गरिएको छ। जुन गीतमा केतन क्षेत्रीको स्वर, कोशिस क्षेत्री र केतन क्षेत्रीको शब्द रचना तथा संगीत छ । गीतमा फिल्मका पात्रहरूको मनोभाव र परिस्थितिलाई देखाइएको छ ।फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण बनेको फिल्ममा चार नारी पात्रको कंथा समेटिएको छ। फिल्ममा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारहरूको अभिनय रहेको छ। निर्देशक गणेश देव पाण्डेको निर्देशन र विवेक खड्काको छायाङ्कन रहेको फिल्मको सम्पादन अन्जय खड्काले गरेका हुन् । फिल्मको कार्यकारी निर्माता नवीन भट्ट हुन् । भदौ १ गतेबाट रिलिजमा आउने फिल्मलाई निर्मात्री आभा शर्मा नेपालले निर्माण गरेकी हुन् ।
कमेन्ट गर्नुहोस्