
तिलोत्तमा / असार १२। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ । काठमाडौँबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एयरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो ।
विश्व प्रसिद्ध लुम्बिनीलाई हवाई हङकङसँग जोडेर त्यहाँबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले उडान विस्तार गर्न लागिएको निगमले जनाएको छ । निगमले भैरहवाबाट भारतको नयाँ दिल्लीमा पनि छिट्टै उडान सञ्चालनको योजना बनाएको छ ।
भैरहवाबाट हङकङ र नयाँदिल्लीमा उडान सञ्चालनको अन्तिम तयारी भइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । ‘भैरहवाबाट हङकङ उडानको तयारी गरेका छौँ, एक÷दुई दिनमै टुङ्गो लाग्छ । नयाँदिल्लीसहित अन्य मुलुकमा पनि उडान विस्तार गर्ने योजना छ’, उनले भने ।
प्रवक्ता पौडेलका अनुसार अबको १५ दिनभित्र ती दुवै गन्तव्यमा उडान गर्नेगरी टिकट बुकिङ खुला गरिनेछ । दुबई, दोहालगायत गन्तव्यमा पनि भैरहवाबाट उडान सञ्चालन गर्ने योजना छ ।
निगमले गत जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्नाका साथै भैरहवा–मलेसिया र मलेसिया–भैरहवा–काठमाडौँमा उडान गरिरहेको हो । विसं २०७९ जेठ २ गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आएको भैरहवा विमानस्थलमा कुवेतको जजिरा एयरले उडान गर्दै आएपछि पछिल्लो समय प्राविधिक कारण देखाउँदै उडान स्थगित गरेको छ ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तदारुकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान सुरु गर्ने निर्णय गरेको निगमले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सोमबार प्रतिनिधिसभाको बैठकमा पर्यटन मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रभावकारीरूपले सञ्चालनका लागि पहल भइरहेको जिकिर गर्नुभएको थियो । उनले गौतमबुद्ध विमानस्थलमा निगमले मलेसियाको क्वालालम्पुर–भैरहवा–काठमाडौँ उडान सुरु गरिसकेको, जजिरा एयरले उडान गरिरहेकामा प्राविधिक कारण हालै उडान स्थगित गरेको जानकारी पनि दिएका थिए ।
कमेन्ट गर्नुहोस्