
तिलोत्तमा सिटी । बैशाष २४ गते । ओपनर फिलिप साल्टको विष्फोटक ब्याटिङसँगै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपीएल)२०२३ को ५० औं खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरमाथी सानदार जित हात पारेको छ । घरेलु मैदान अरुण जेट्ली स्टेडियममा दिल्ली ७ विकेटले विजयी भएको हो । बेंग्लोरले दिएको १ सय ८२ रनको लक्ष्य दिल्लीले १६ दशमलब ४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीको जितमा ओपनर फिलिप साल्टले ४५ बलमा ८ चौका र ६ छक्कासहित सर्वाधिक ८७ रनको विष्फोटक अर्धशतकीय इनिङ खेले । अर्का ओपनर डेविड वार्नर १४ बलमा ३ चौका र १ छक्कासहित २२ रनमा आउट भए । राइली रोसोउ २२ बलमा १ चौका र ३ छक्कासहित ३५ रनमा अविजित रहे । मिचेल मार्श १७ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा आउट भए । अक्षर पटेल ८ रनमा अविजित रहे । बेंग्लोरका जोश हेजलवुड, कर्ण शर्मा र हर्षल पटेलले समान १÷१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बेंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो । बेंग्लोरका युवा खेलाडी महिपाल लोमरोर र विराट कोहलीले अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । लोमरोरले २९ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ५४ रनको ईनिङ खेले । उनको यो आइपीएल करिअरको पहिलो अर्धशतक थियो । ओपनर विराट कोहलीले ४६ बलमा ५ चौकाको सहयोगमा ५५ रन बनाए । बेंग्लोरलाई ओपनर विराट कोहली र फाफ डु प्लेसिसले १० दशमलब ३ ओभरमा ८२ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए । फाफ डु प्लेसिसले ३२ बलमा ५ चौका र १ छक्कासहित ४५ रनमा आउट भए । दिल्लीका लागि मिचेल मार्शले २ तथा मुकेश कुमार र खलिल अहमदले समान १÷१ विकेट लिए । दिल्ली १० खेलमा ४ मा जित र ६ मा हारसहित ८ अंकका साथ नवौं स्थानमा छ । बेंग्लोर १० खेलमा ५ मा जित र ५ मा हारसहित १० अंकका साथ पाँचौं स्थानमा छ ।
कमेन्ट गर्नुहोस्